काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपिएल)मा नेपालका स्टार खेलाडी सन्दिप लामिछानेको यो सिजन बेञ्चमै बित्यो। उनी आवद्ध दिल्ली क्यापिटल्ससँग स्पिनरहरुको अभाव नहुँदा सन्दिपले १५ खेलमा कुनै मौका पाएनन्। आइतबार दिल्लीले सनराइजर्स हैदराबादसँग दोस्रो क्वालिफायर खेल्दैछ। यो जितेमा फाइनल खेल्न पाउनेछ। हार्दा दिल्लीका लागि अन्तिम खेल हुनेछ।
यस्तो अवस्थामा लामिछानेले केही सांकेतिक ट्वीट गरिरहेका छन्। शनिबार राति उनले अन्तिम विश्वास भन्दै ट्वीट गरे। त्यहाँ आएका अनेकथरि कमेन्टलाई सम्बोधन गर्दै आइतबार बिहान उनले नेपाली गीत ‘फूलको आँखामा फूलै संसार’का दुई लाइन उल्लेख गरे।
आइतबार दिउसो फेरि उनको ट्वीट आयो, जहाँ उनले जीवनको ठूलो सिकाइ भन्दै लेखेका छन्, ‘आफ्नो नियन्त्रणमा नहुने कुरामा हामीले धेरै सोच्न सक्दैनौं।’
आइतबारको खेलमा पनि सन्दिप प्लेइङ- ११ मा पर्ने सम्भावना न्यून छ। किनभने दिल्ली जित्नैपर्ने दबाबमा छ। उसको कमजोरी बलिङभन्दा पनि ब्याटिङ हो। त्यसैले खेलाडी परिवर्तन गर्दा पनि ब्याटिङलाई ध्यानमा राखेर गर्नेछ।
क्रिकइन्फोलगायतले आइतबारको खेलका लागि दिल्लीले खेलाउने ११ खेलाडिमा पनि सन्दिपको सम्भावना औंल्याएका छैनन्। ओपनर पृथ्वी शाहको ठाउँमा हर्षल पटेलले खेल्न सक्ने औंल्याइएको छ। ओपनरका रुपमा अजिन्क्या रहाणे र शिदर धवन आउनेछन्।
विदेशी खेलाडीमा सिमरन हेटमायरले पुनः मौका पाउनेछन्। कागिशो रबाडा, मार्कस स्टोइनिस र एनरिच नोर्ट्जे दिल्लीका लागि राम्रो प्रदर्शन गरिरहेका खेलाडी हुन्। उनीहरुको ठाउँमा अर्को विदेशी खेलाडीले मौका पाउने सम्भावना नै छैन। यसकारण सन्दिपले यो आइपिएलमा मौका पाउने सम्भावना कमजोर देखिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।