काठमाडौं- सनराइजर्स हैदरवादले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा फाइनल प्रवेशको लागि दिल्ली क्यापिटल्ससँग खेल्ने भएको छ। शुक्रबार राति प्लेअफको इलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गर्दै हैदरावाद दोस्रो क्वालिफायरमा पुगेको हो।
१३२ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको हैदरवादले १९.४ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेटायो। हैदरावादको जितमा केन विलियम्सनले अर्धशतकीय पारी खेले। उनले ४४ बलमा अविजित ५० रन बनाए। त्यस्तै, जासन होल्डरले अविजित २४ रन बनाउँदा मनिष पाण्डेले पनि २४ रन नै बनाएका थिए। बलिङतर्फ बैंग्लोरका मोहम्मद सिराजले दुई विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले खराब प्रदर्शन गर्दै २० ओभरमा सात विकेटको क्षतिमा १३१ रनको सामान्य योगफल तयार पारेको थियो। ओपनिङमा आएका कप्तान विराट कोहली र देवदुत्त पाडिकल सुरुवातमै आउट भएपछि बैंग्लोर दबाबमा आएको थियो।
कप्तान कोहली पहिलो विकेटको रुपमा सात बलमा व्यक्तिगत ६ रन बनाएर आउट हुँदा बैंग्लोरको ७ रन थियो। देवदुत्त पनि दोस्रो विकेटको रुपमा एक रनमै आउट भएपनि तेस्रो नम्बरमा आएका आरोन फिन्च र एबी डिभिलियर्सले बैंग्लोरलाई उकासेका थिए। एबी डिभिलियर्सले ५६ रन बनाउँदा फिन्चले ३२ रन बनाए। बलिङतर्फ हैदरावादका जासन होल्डरले तीन विकेट लिए।
फाइनल प्रवेशको लागि अब हैदरावादले दोस्रो क्वालिफायरमा दिल्लीसँग आइतबार प्रतिस्पर्धा गर्नेछ। बिहीबार राति भएको पहिलो क्वालिफायरमा दिल्लीलाई पराजित गर्दै साविक विजेता मुम्बई इन्डियन्स फाइनलमा पुगिसकेको छ। फाइनल नोभेम्बर १० तारिखमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।