काठमाडौं– न्युजिल्यान्ड भ्रमणमा रहेको वेष्ट इन्डिज क्रिकेट टिमका खेलाडी प्रशिक्षक र स्टाफ सबैको कोरोना भाइरस परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ।
शुक्रबार दोस्रो पटक पूरै टिमको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको हो। अन्तिम तथा तेस्रो पटक कोरोना परिक्षण आउँदो साता गर्ने वेष्ट इन्डिज टिमले बताएको छ। आउँदो साता १४ दिनको क्वारेन्टाइन वेष्ट इन्डिज टिमको पूरा हुनेछ। क्यारेबियनबाट ५४ घण्टाको ट्रान्जिटपछि वेष्ट इन्डिज टिम न्युजिल्यान्ड गएको साता पुगेको थियो। अहिले टिम क्वारेन्टाइनमा छ।
वेष्ट इन्डिजले घरेलु टिमसँग तीन खेलको टि–२० र दुई खेलको टेष्ट क्रिकेट सिरिज खेल्ने छ। नोभेम्बर २७ तारिखमा पहिलो टि–२० क्रिकेट खेल हुँदा २९ र ३० नोभेम्बरमा दोस्रो र तेस्रो टि–२० क्रिकेट खेल वेष्ट इन्डिजले न्युजिल्यान्डसँग खेल्नेछ। त्यस्तै, डिसेम्बर ३ देखि ७ तारिखसम्म पहिलो टेष्ट खेल खेल्ने वेष्ट इन्डिजले न्युजिल्यान्डसँग ११ देखि १५ तारिखसम्म दोस्रो टेष्ट खेल खेल्दै भ्रमण सकाउनेछ।
वेष्ट इन्डिज टिममा परेका सात खेलाडी इन्डियन प्रिमियर लिग (आइपिएल) मा छन्। टि–२० टिमका कप्तान केइरन पोलार्ड, टेष्ट क्रिकेट टिमका कप्तान जासन होल्डर, फावियन एलेन, सिमरन हिटम्यर, किमो पाउल, निकोलस पुरन र ओसाने थोमस आइपिएलमा छन्। उनीहरु नोभेम्बर १० तारिखमा आइपिएल सकेलगतै न्युजिल्यान्ड प्रस्थान गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।