लन्डन- बेलायतको राजधानी लन्डनमा सरकारले जारी गरेको लकडाउनका विरुद्धमा प्रदर्शनमा उत्रिएका १०४ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रतिबन्धात्मक व्यवस्थाको उल्लंघन गरेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
कोरोनाभाइरसको महामारी फैलिँदै गएपछि सरकारले दोस्रोपटक देशव्यापी लकडाउनको घोषणा गरेकाले त्यसविरुद्ध बिहीबार हजारौँले प्रदर्शन गरेका थिए।
प्रदर्शनमा उत्रिएकाहरुलाई तत्काल भिडभाडबाट भाग्न र घरघर जान प्रहरी अधिकारीहरुले निर्देशन दिएका थिए। निर्देशन दिँदा पनि अवज्ञा गरेपछि १०४ जनालाई पक्राउ गरिएको हो ।
प्रहरी कमान्डर जोन कोन्नर्सले कोरोना भाइरसको जोखिम कम गर्न लागू गरिएका प्रतिबन्धात्मक व्यवस्थाहरुको उल्लंघन गरेकालाई पक्राउ गरिएको स्पष्ट पारे।
'हाम्रो मुख्य जिम्मेवारी लन्डनलाई सुरक्षित राख्नु हो, त्यसका लागि हामीले भिडभाड गर्न नदिने नियम लागु गरेका छौँ, केही व्यक्तिहरुले त्यसलाई अटेरी गर्नुभयो, त्यसैले हामीले पक्राउ गरेका हौँ,' उनले भनेका छन्।
झन्डै आठ महिना लामो महामारीका क्रममा बेलायतमा पटक पटक लकडाउन गरिएको छ र त्यसको अस्थालाई कहिले खुकुलो र कहिले कसिलो बनाउने गरिएको छ।
केही हप्ता अगाडि महामारी फेरि बढ्न थालेपछि सरकारले लकडाउनलाई फेरी कडाइ गर्ने घोषणा गरेको हो।
विश्व स्वास्थ्य संगठनले गत मार्च ११ देखि विश्वभर कोरोना भाइरसको महामारी घोषणा गरेको छ। संगठनका अनुसार महामारीका कारण विश्वभर ४ करोड ९० लाख ५६ हजार ६६४ जना सङ्क्रमित भएका छन्।
त्यसैगरी १२ लाख ३९ हजार ९९१ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने तीन करोड ५० लाख एक हजार ६२४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले मुक्त भइसकेका छन् ।
विश्वभरी अहिलेपनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या एक करोड २८ लाख १५ हजार ४९ रहेको छ। ती मध्ये झन्डै एक प्रतिशत गम्भीर अवस्थामा छन्। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।