काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्स कमजोर टिम होइन तर मुम्बई इन्डियन्सविरुद्ध भने सधैं तर्सिन्छ। त्यही डर लिएर दिल्लीले आइपिएलको पहिलो क्वालिफायर बिहीबार राति (आज) साविक विजेता मुम्बईसँग खेल्दैछ।
जारी आइपिएलमा दिल्लीले त्यस्तो टिमको छवि बनाएको छ, जुन टिमले दुई सय रनभन्दा बढीको लक्ष्य तोड्न पनि सक्छ। सस्तोमै समेटिन पनि सक्छ। यो आइपिएलमा दिल्लीले गरेको प्रदर्शनले पनि त्यही भन्छ। सन्तुलन हुँदा उच्च प्रदर्शन हुने गर्छ। हार्दा असाध्यै कमजोर टिम जसरी हार्ने दिल्लीको बानी जस्तो देखिन्छ।
लिग चरणको पाँच खेल बाँकी छँदै दिल्लीको १४ अंक थियो भने उसले मात्र दुई खेलमा हार ब्यहोरेको थियो। तर त्यसपछिका लगातार चार खेलमा हार्दा दिल्लीलाई प्लेअफमा पुग्न संघर्ष गर्नुपर्यो। तर अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गर्दै शीर्ष दुईमा परेर फाइनल प्रवेशको लागि खेल्न पाएको छ।
लिग चरणको १४ खेलमध्ये आठ खेलमा जित र ६ खेलमा हार ब्यहोरेको दिल्लीले १६ अंक बनाउँदा एक खेल बढी जितेको मुम्बईले १८ अंक बनाउँदै लिग चरणमा शीर्ष स्थानमा रह्यो। त्यस्तै, बैंग्लोरले दिल्लीसँग हारेर पनि प्लेअफमा स्थान बनायो। बैंग्लोर सात खेलमा जित र सात खेलमा हार ब्यहोर्दै १४ अंक बनाउँदा चौथो स्थानमा रह्यो। सनराइजर्स हैदरावादले १४ खेलबाट १४ अंक बनाएर तेस्रो हुँदै प्लेअफको इलिमिनेटर खेलमा बैंग्लोरसँगको खेल पक्का गर्यो।
के हुन सक्छ रणनीति?
दिल्ली मुम्बईलाई पराजित गर्दै पहिलोपटक आइपिएलको फाइनलमा पुग्न चाहन्छ। तर, दिल्लीलाई सवैभन्दा ठूलो डर नै चार पटकको च्याम्पियन मुम्बई हो। जारी आइपिएलमा दिल्ली मुम्बईसँग दुबै खेलमा पराजित भएको छ। पहिलो खेलमा पाँच विकेटले पराजित भएको दिल्ली दोस्रो खेलमा भने ९ विकेटले हारेको छ। दिल्लीलाई पराजित गर्न मुम्बईलाई अरु टिमविरुद्ध भन्दा सहज भएको देखिन्छ। पहिलो क्वालिफायरमा पनि दिल्लीको अवस्था लिग चरणकै जस्तो भए फाइनलमा पुग्ने सपना टुट्न सक्छ। दिल्लीको कमजोर पक्ष नै ब्याटिङ हो। दिल्लीले ब्याटिङमा सुधार गरे खेल जित्न सक्छ।
ओपनिङ जोडी पृथ्वी शो र शिखर धवनको जोडी चल्न सकेमा दिल्लीले दुई सय भन्दा बढी रन बनाउन सक्छ। लिग चरणको आफ्नो अन्तिम खेलमा दिल्लीका अजिंक्या राहानेले ६० रन बनाएका थिए। त्यसैले मुम्बईविरुद्धको खेलमा पनि उनी टिममा पर्न सक्छन्। टिममा परे उनले तेस्रो स्थानमा ब्याटिङ गर्नेछन्। अग्रपंक्तीमा राम्रो भए मध्यक्रममा कप्तान श्रेयस ऐयर, रिषभ पन्त र मार्कस स्टोइनिसले टिल्लीलाई सम्हाल्ने छन्।
बलिङतर्फ पुरानै सेट मैदानमा उतार्ने मुख्य प्रशिक्षक रिक्की पोन्टिङको योजना छ। यस्तो हुँदा नेपालका स्टार खेलाडी सन्दीप लामिछाने बेन्चमै रहनेछन्। रविचन्द्रन अश्विन र अक्षर पटेलले स्पिनरको भूमिका निभाउँदा तीव्रगतिको बलिङमा कागिसो रबडा, एनरिच नोर्टजे, ड्यानियल साम्स छन्। दिल्लीले तीव्रगतिको बलरमा साम्सको स्थानमा घरेलु खेलाडि पनि राख्न सक्नेछ।
मुम्बई आइपिएलको बादशाह नै हो। पाँचौ पटक आइपिएलको उपाधि उचाल्ने लक्ष्यमा रहेको मुम्बई दिल्लीलाई पराजित गर्दै फाइनलमा पुग्ने प्रयासमा हुनेछ। त्यसो त मुम्बईलाई रोक्न दिल्लीलाई सजिलो हुनेछैन। कप्तान रोहित शर्मा, क्विन्टन डि ककको जोडीले ओपनिङ थाल्दा, इशान किसान, सुर्यकुमार यादव, हार्दिक पाण्ड्या र केइरन पोलार्डको विष्फोटक ब्याटिङले दुई सय रन माथिको लक्ष्य दिन र तोड्न दुवै सक्छ। मुम्बईको बलिङ पनि उत्तिकै राम्रो छ। जसप्रित बुमराह, ट्रेन्ट बोल्ट, राहुल चाहार, क्रुनाल पाण्ड्या, जेम्स पटिन्सन लगायतको किफायती बलिङ दिल्लीका ब्याट्सम्यानका लागि महंगो सावित हुन सक्छ।
शुक्रबार प्लेअफको इलिमिनेटर खेलमा हैदरावाद र बैंग्लोर प्रतिस्पर्धा गर्दैछ। दिल्ली र मुम्बईबीचको विजेता फाइनलमा पुग्दा पराजित टिम भने दोस्रो क्वालिफायरमा पुग्नेछ। इलिमिनेटरको विजेता टिमसँग आज पराजित हुने टिमले फाइनल प्रवेशको लागि फेरि खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।