काठमाडौं- विश्वमा महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) का कारण करिब ७ महिनादेखि ठप्प रहेको रसुवाको पर्यटन व्यवसाय लयमा फर्कन थालेको छ।
लामो समयदेखि सुनसान रहेको रसुवामा हिजो आज आन्तरिक पर्यटकको चहलपहल बाक्लो रुपमा देखिन थालेको हो।
चैत ११ देखिको लकडाउन तथा निषेधाज्ञापछि आन्तरिक तथा बाह्य पर्यटक आवागमन शून्य रहेको रसुवामा दशैं पछि घुम्न आउने आन्तरिक पर्यटकको संख्या वृद्धिले होटल तथा पर्यटन व्यवसायीहरु उत्साहित बनेका छन्।
कोरोना महामारीका कारण करिब ७ महिनादेखि ठप्प रहेको होटल तथा पर्यटन व्यवसायलाई केही दिनदेखि घुम्न र बास बस्न आउने आन्तरिक पर्यटकको संख्याले व्यवसायीहरुलाई उत्साहित बनाएको होटल तथा पर्यटन व्यवसायी संघ रसुवाका अध्यक्ष निशान गजुरेलले बताए।
अध्यक्ष गजुरेलले लामो समय देखि व्यवसाय ठप्प हुँदा व्यवसायीमा निराशा उत्पन्न भएको र अहिले विस्तारै पर्यटकको आगमन बढ्ँदा व्यवसायी उत्साहित भएको जानकारी दिए। अहिले दैनिक ६० देखि ८० जना सम्म आन्तरिक पर्यटक र ३ देखि ४ जना वाह्य देशका पर्यटकहरु होटलमा बास बस्न आउने गरेको बताउदै अध्यक्ष गजुरेलले यो संख्या बढ्दै जाने विश्वास व्यक्त गरे।
धार्मिक, सास्कृतिक, प्राकृतिक, ऐतिहासिकस्थल लाङटाङ, गोसाइँकुण्ड, तामाङ सम्पदा मार्ग, रसुवागढी , नागथली लगायतका क्षेत्र हेर्न पर्यटक रसुवामा जाने गर्दछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।