काठमाडौं- नेपाली कांग्रेसले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई समर्थन गरेको छ। कांग्रेसका नेता खुलामञ्च नै पुगेर निःशुल्क खाना खुवाउने अभियानलाई समर्थन गरेका हुन्।
कांग्रेसको कोभिड अनुगमन समितिका संयोजकसमेत रहेका सहमहामन्त्री प्रकाशशरण महतले काठमाडौं महानगरपालिकाको अहिलेको नेतृत्वले आम नागरिकको समस्या नबुझेको बताए। 'महानगरपालिका आफैले राहात पुर्याउनुपर्ने ठाउँमा दाताहरुले सहयोग गरे पनि रोक्न निर्देशन दिने कुरा कदापि स्वीकार्य हुँदैन,' नेता महतले भने।
कांग्रेस नेता भीमसेनदास प्रधानले निःशुल्क खाना खुवाइरहेको समूहलाई १० हजार नगद सहयोग गर्दै सरकारले विकल्प नदिँदासम्म खुलामञ्चमा खाना खुवाउन रोक्न नहुने बताए। संविधानले दिएको नागरिकको अधिकार पनि राज्यले खोसेको उनले भनाइ थियो।
हन्ड्रेड ग्रुपका संस्थापक अंशु यादवले महानगरपालिकाले तिहारसम्म खुलामञ्चमै खाना खुवाउन भनेको बताए। तिहारपछि होटल बुकिङ गरेर भएपनि व्यवस्थापन गर्ने महानगरपालिकाले प्रतिबद्धता जनाएको उनको भनाइ छ।
कोरोना संक्रमणको जोखिम बढेको, फोहोर भएको भन्दै महानगरपालिकाले खुलामञ्चमा खाना नखुवाउन भन्दै आएको छ। महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पत्रकार सम्मेलन गरेर काठमाडौंलाई मागी खाने सहरको रूपमा प्रचार नगर्न चेतावनी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।