काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं सहरलाई मागी खानेहरूको सहरका रूपमा विश्वलाई चिनाउने प्रयास भएको भन्दै त्यस्तो काम नगर्न चेतावनी दिएका छन्। बुधबार पत्रकार सम्मेलन गर्दै मेयर शाक्यले महानगरबासीको स्वस्थ जीवनप्रति महानगर संवेदनशील भएको तर काठमाडौंमा निशुल्क खाना वितरण अभियानप्रति भने असन्तुष्टि पोखेका हुन्।
‘काठमाडौंलाई गरिखानेहरूको सहरका रुपमा चिनाउनुपर्छ भन्ने हाम्रो मान्यता छ। कोरोना कहरका बेला सार्वजनिक स्थान र सडकमा स्वास्थ्य मापदण्डको सामान्य पनि ख्याल नगरी जथाभावी लाइन लगाएर खाना खुवाई स्वास्थ्यमाथि नै हेलचेक्य्राइँ गरी उनीहरुको कथाव्यथा बेचियो,' मेयर शाक्यले भने, 'विश्वमै ऐतिहासिक र साँस्कृतिक सहरका रुपमा परिचित काठमाडौँलाई मागी खानेहरुको सहर हो भनी विश्वलाई चिनाउने प्रयास कसैबाट नहोस्।’
महानगर क्षेत्रभित्रका विभिन्न सार्वजनिक र भीडभाड हुने स्थलहरूमा हालै भइरहेको निःशुल्क खाना खुवाउने कार्यप्रति काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण भएको बताउँदै यसको विकल्प खोज्नुपर्ने उनको भनाइ छ।
‘अहिले मुलुकमा लकडाउन छैन। यस्तो बेलामा हामी सबैले समन्वय गरेर अघि बढ्ने हो भने समस्यामा परेका श्रमिक, गरिब र असहायलाई दुई छाक खाने र उनीहरुको चुल्हो ननिभ्ने व्यवस्था सजिलै गर्न सकिन्छ,’ शाक्यले भने, ‘हुनेखानेले मात्रै होइन दीनहीनले पनि स्वस्थ्यकर र पेटभरी खाना खान पाउनुपर्छ, काठमाडौं महानगर यो मान्यतामा दृढ छ। श्रम गरी खान सक्ने युवालाई श्रमप्रतिको सम्मानका लागि प्रेरणा जागृत गराउनुपर्छ, अल्छी बनाउनुहुन्न।’
लकडाउनको समयमा काठमाडौं महानगरपालिकाले ३२ वटै वडामार्फत् ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने मूल नाराका साथ खान नपाउने, बेरोजगार, अशक्त र असहायलाई राहत वितरण र खाना खुवाउने काम गरेको पनि मेयर शाक्यले दाबी गरे। लकडाउन अवधिभर काठमाडौं महानगरपालिकाले १ लाख ५० हजारभन्दा बढी परिवारलाई राहत वितरण र २ लाख ५० हजार बढीलाई खाना खुवाएको उनको दाबी छ।
‘अहिले काठमाडौंका पुरानो बसपार्कलगायतका विभिन्न सार्वजनिक स्थलहरूमा फोहोर, धूलोधुँवा र भीडभाडका बीच स्वास्थ्य सुरक्षासम्बन्धी सामान्य मापदण्डसमेत पूरा नगरी अस्वस्थ र असुरक्षित तरिकाले खाना खुवाउँदै आइरहेको भनी जनस्तरबाटै गुनासो आउने गरेको कुराप्रति पनि हाम्रो ध्यानाकर्षण भएको छ,’ मेयर शाक्यले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।