काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) टी ट्वान्टी क्रिकेटमा समूह चरणको अन्तिम खेलमा मुम्बई इन्डियन्सलाई १० विकेटले पराजित गर्दै सनराइजर्स हैदराबादले प्ले अफमा स्थान बनाएको छ। जसले नेट रन रेटमा पछि रहेको कोलकाता नाइट राइडर्स प्रतियोगिताबाट बाहिरिएको छ।
मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य हैदराबादले १७.१ ओभरमा विकेट नगुमाई पूरा गरेको हो। जसमा ऋद्धिमन शाहले ४५ बलमा ५८ रन र डेभिड वार्नरले ५८ बलमा ८५ रन बनाए। यसअघि नै पहिलो क्वालिफायरमा स्थान बनाइसकेको मुम्बईका लागि खेल अभ्यासका रुपमा मात्र सीमित देखियो।
त्यसअघि हैदराबादले टस जितेपछि ब्याटिङमा आएको मुम्बईले पूरा ओभर खेल्दै ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो। जसमा कायरन पोलार्डले २५ बलमा ४१ रन, क्वान्टन डि ककले १३ बलमा २५ रन, सूर्यकुमार यादवले २९ बलमा ३६ रन साथै इशान किशानले ३० बलमा ३३ रन बनाएका थिए। हैदराबादका सन्दीप शर्माले तीन, ज्यासन होल्डर र शाहबाज नदिमले दुई–दुई साथै रासिद खानले एक विकेट लिएका थिए।
हैदराबादले अब इलिमिनेटर खेलमा शुक्रबार रोयल च्यालेन्जर्स बैंग्लोरसँग खेल्नेछ। त्यसअघि मुम्बई र दिल्ली क्यापिटल्सबीच पहिलो क्वालिफायर खेल बिहीबार हुनेछ, जसको विजेता फाइनल पुग्नेछ भने पराजित टिमले इलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल आइतबार खेल्नेछ। फाइनल खेल आउँदो मंगलबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।