काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) टी ट्वान्टी क्रिकेटमा समूह चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्यापिटल्सले क्वालिफायरमा स्थान पक्का गरेको छ। जहाँ हारपछि पनि नेट रन रेटका कारण बैंग्लोरको स्थान इलिमिनेटर खेलका लागि पक्का भएको छ।
बैंग्लोेरसँगको खेलमा टस जितेर फिल्डिङ रोजेको दिल्लीले बैंग्लोरलाई १ सय ५२ रन मात्र बनाउन दियो। १ सय ५३ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा ४ विकेट जाँदा लक्ष्य पूरा गरेको हो। दिल्लीका लागि शिखर धावनले ४१ बलमा ५४ रन, अजिन्का राहानेले ४६ बलमा ६० रन, पृथ्वी शोले ६ बलमा ९ रन, श्रेयश ऐयरले ९ बलमा ७ रन, मार्कस स्टोइनिसले ५ बलमा १०, रिसब पन्तले ७ बलमा ८ रन बनाए।
पहिले ब्याटिङ गरेको बैंग्लोरका लागि देबदत्त पाडिकलले अर्धशतक बनाएका थिए। ४१ बल खेलेका उनले ५० रन बनाए। विराट कोहलीले २४ बलमा २९ रन, एबी डी भिलियर्सले २१ बलमा ३५ साथै शिभम दुबेले ११ बलमा १७ रन बनाए। दिल्लीका एनरिच नोक्याले तीन विकेट लिए। कागिसो रबाडाले दुई साथै रबिचन्द्रन आश्विनले एक विकेट लिए।
पहिलो क्वालिफायर खेलमा मुम्बई र दिल्लीबीच विजेता टिम फाइनल पुग्नेछ भने पराजित टिमले दोस्रो क्वालिफायरमा मौका पाउनेछ। जहाँ तेस्रो र चौथो स्थानमा रहने टिमबीच हुने इलिमिनेटर खेलको विजेतासँग खेल्नुपर्नेछ।
पहिलो क्वालिफायरमा शीर्ष स्थानको मुम्बई इन्डियन्ससँग दिल्लीले बिहीबार खेल्नेछ। दोस्रो क्वालिफायर पुग्न इलिमिनेटर खेलका लागि बैंग्लोरले कोलकाता या हैदराबादसँग खेल्नुपर्नेछ। जसको टुंगो मंगलबार लाग्नेछ।
हैदराबादले समूह चरणको अन्तिम खेलमा मंगलबार राति मुम्बई इन्डियन्सलाई हराए कोलाकाता नेट रन रेटमा पछि पर्दै बाहिरिने छ। जहाँ हैदराबाद मुम्बईसँग हारे इलिमिनेटरमा कोलकाताको स्थान पक्का हुनेछ। अहिले १४ अंक रहेको कोलकाताको नेट रन रेट (–०.२१४) छ भने १२ अंक रहेको हैदराबादको नेट रन रेट (०.५५५) रहेको छ। जसले हैदराबादले मुम्बईलाई हराए कोलकाता पछि पर्नेछ। १४ अंक नै रहेको बैग्लोरको नेट रन रेट (–०.१७२) रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।