काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) टी ट्वान्टी क्रिकेटमा समूह चरणका अन्तिम दुई खेल बाँकी छन्। जसमा चार टिमको भाग्य अडेको छ। जसबाट शीर्ष स्थानको मुम्बई इन्डियन्ससँगै पहिलो क्वालिफायर खेल्ने टिमका साथै इलिमिनेटर खेलका दुई टिमको टुंगो लाग्नेछ।
सोमबार बेलुका पौने ८ बजे रोयल च्यालेन्जर्स बैंग्लोर र दिल्ली क्यापिटल्सबीच खेल हुँदै छ। जसमा विजेता टिम दोस्रो स्थानमा रहँदै मुम्बईसँग पहिलो क्वालिफायर खेल्नेछ। समूह चरणको अन्तिम खेल मंगलबार बेलुका पौने ८ बजे सनराइजर्स हैदराबाद र मुम्बईबीच हुनेछ। जसमा हैदराबादले जितेमा शीर्ष चारमा स्थान पक्का गर्नेछ।
बैंग्लोर, दिल्ली र हैदराबादसँगै शीर्ष चारभित्र पर्ने सम्भावना कोलकाता नाइट राइडर्सले पनि जीवित बनाएको छ। आइतबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ६० रनले हराउँदै कोलकाताले आफ्नो सम्भावना बनाइराखेको हो। जसका लागि बाँकी दुई खेलको नतिजामा भर पर्नुपर्ने छ।
नेट रन रेटको अवस्थाका कारण बैंग्लोर र दिल्लीबीच हार्ने टिम पनि अघिल्लो चरणमा बढ्ने सम्भावना रहिरहेको छ। बैंग्लोरको अहिले १४ अंकका साथ (–०.१४५) को नेट रन रेट छ। दिल्लीको १४ अंक (–०.१५९), कोलकाता नाइट राइडर्सको १४ अंक (–०.२१४) र सनराइजर्स हैदराबादको १२ अंक (०.५५५) को नेट रन रेट रहेको छ।

प्रतिगिताको सुरुवाती अवस्थामा राम्रो गरिरहेको दिल्लीको पछिल्ला खेलहरु राम्रो भइरहेका छैनन्। जहाँ सुरुमा दिगमिगाएको बैंग्लोर अहिले केही सम्हालिएको देखिन्छ। लगातार चार हारले समस्यामा देखिएको दिल्ली र लयमा देखिएको बैंग्लोरबीचको खेलले धेरै विषय टुंग्याउनेछ।
दिल्लीको खेलमा नेपाली लेग स्पीनर सन्दीप लामिछाने खेल्ने प्रतीक्षामा रहेका नेपाली दर्शकले सोमबार पनि सन्दीपलाई मैदानमा देख्ने सम्भावना देखिँदैन। दिल्लीले चार जना विदेशी खेलाडीमा शिमरोन हेटमेयर, मार्कस स्टोइनिस, कागिसो रबाडा र एनरिच नोर्टजेलाई नै खेलाउने देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।