काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) टी ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सलाई ६० रनले पराजित गर्दै कोलकाता नाइट राइडर्सले शीर्ष चारभित्र पर्ने सम्भावना जीवित राखेको छ। समूह चरणको अन्तिम खेलमा इओन मोर्गानको ब्याटिङ र पाट क्युमिन्सको बलिङ चल्दा कोलाकाताले खेल जितेको हो।
राजस्थान रोयल्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको कोलकाताले पूरा २० ओभर खेल्दै ७ विकेट जाँदा १ सय ९१ रन बनाएको थियो। जसमा शुभमन गिलले २४ बलमा ३६, राहुल त्रिपाठीले ३४ बलमा ३९, इओन मोर्गानले ३५ बलमा अविजित ६८, एन्ड्रे रसेलले ११ बलमा २५ रन बनाएका थिए।
१ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको राजस्थान सम्हालिन सकेन। पूरा ओभर खेले पनि ९ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो। राजस्थानका लागि बेन स्टोक्सले ११ बलमा १८, जस बटलरले २२ बलमा ३५, राहुल तेबाटियाले २७ बलमा ३१, श्रेयस गोपालले २३ बलमा २३ रन बनाए। कोलकाताका क्युमिन्सले चार विकेट लिए। बरुण चक्रबर्थी र शिभम माभीले दुई–दुई साथै कमलेश नगरकोटीले एक विकेट लिए।
अहिले अंक तालिकामा दोस्रो र तेस्रो स्थानमा रहेका रोयल च्यालेन्जर्स बैंग्लोर र दिल्ली क्यापिटल्सबीचको विजेता दोस्रो स्थानमा रहँदै शीर्ष स्थानको मुम्बई इन्डियन्ससँग पहिलो क्वालिफायर खेल्नेछन्। समूह चरणको अन्तिम खेलमा मुम्बई र सनराइजर्स हैदराबादबीच खेल हुनेछ। जसमा हैदराबादले जितेमा शीर्ष चारभित्र पर्नेछ भने मुम्बईले जितेमा अरु टिमलाई बाटो खुल्नेछ।
राजस्थानविरुद्धको जितसँगै चौथो स्थानमा उक्लिएको कोलकाताको १४ अंकका साथ –०.२१४ को नेट रन रेट रहेको छ। अन्तिम खेलमा हैदराबाद मुम्बईसँग हारेमा कोलकाता अघि बढ्नेछ। यदि हैदराबादले जितेमा भने राम्रो नेट रन रेटका कारण हैदराबाद अघि बढ्नेछ। जसले गर्दा बैंग्लोर र दिल्लीमध्ये पराजित टिमको भन्दा कोलकाताको नेट रन रेट राम्रो हुनुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।