काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) टी ट्वान्टी क्रिकेटमा किंग्स इलाभेन पञ्जाब समूह चरणबाट नै बाहिरिएको छ। यसअघि नै समूह चरणबाट बाहिर भइसकेको चेन्नई सुपर किंग्ससँग ९ विकेटले पराजित हुँदै पञ्जाब पनि बाहिरिएको हो।
अबुधाबीमा भएको खेलमा चेन्नईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको पञ्जाबले १ सय ५३ रन मात्र बनाउन सकेको थियो। पूरा ओभर खेल्दै ६ विकेट गुमाएर १ सय ५३ रन बनाउँदा पञ्जाबका लागि दीपक हुडाले ३० बलमा अविजित ६२ रन बनाएका थिए। केएल राहुलले २७ बलमा २९, मयंक अग्रवालले १५ बलमा २६ र मनदिप सिंहले १५ बलमा १४ रन बनाए।
चेन्नईका लुङ्गी एनगिडीले तीन साथै शार्दुल ठाकुर, इमरान ताहिर र रविन्द्र जडेजाले एक–एक विकेट लिएका थिए।
१ सय ५४ रनको लक्ष्य पछ्याएको चेन्नईले १८.५ ओभरमा १ विकेट जाँदा लक्ष्य पूरा गर्न सक्यो। चेन्नईका लागि रुतुराज गाइकवाडले ४९ बलमा अविजित ६२ रन बनाए। फाफ डुप्लेसिसले ३४ बलमा ४८ रन बनाए। महत्वपूर्ण अवस्थामा दुई क्याच मिस गर्दा पञ्जाबलाई सम्हालिन मुस्किल देखियो। तेस्रो क्रममा ब्याटिङ गरेका अम्बाती रायडुले ३० बलमा ३० रन बनाए।
पञ्जाब बाहिरिएसँगै शीर्ष चारमा पर्ने प्रतिस्पर्धामा रहेका अरु टिमलाई फाइदा पुग्नेछ। अहिले अंक तालिकामा दोस्रो र तेस्रो स्थानमा रहेका रोयल च्यालेन्जर्स बैंग्लोर र दिल्ली क्यापिटल्सबीचको विजेता दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्नेछन्।
पञ्जाबको हारले बैंग्लोर र दिल्लीमा हार्ने टिमका लागि पनि अघि बढ्ने सम्भावना बढेको छ। जहाँ तेस्रो र चौथो स्थानमा रहन टिमहरुलाई नेट रन रेटमा नै राम्रो हुनुपर्ने छ। त्यसमा सनराइर्जस हैदराबाद, राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सको सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।