काठमाडौं- ४ सय ५६ मेगावाट उत्पादन क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनालाई राष्ट्रिय प्रशारणलाई लाइनमा जोड्ने २ सय २० केभी गोंगर-खिम्ती प्रशारणलाइन अन्तर्गतको २२ नंम्बर टावर भाँचिएको छ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजना प्रमुख विज्ञान श्रेष्ठले गत असोजमा गएको पहिरोका कारण टावर भाँचिएको बताए। बाढीपहिरोका कारण टावरमा क्षति पुगे पछि प्रशारणलाइन बन्ने रुटको भौगोलिक अध्ययन गरेर अर्को टावर बनाउन लागिएको उनले बताए।
माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडले निर्माण तथा सञ्चालन गर्ने ४७ किलोमिटर लम्बाइको गोगर-खिम्ती २ सय २० केभी प्रसारण लाइनमा क्षति पुगेपछि आयोजनाको काममा थप असर पर्ने देखिएको छ।
आगामी पुसदेखि परीक्षण प्रशारण सुरु गर्ने लक्ष्य राखिएको आयोजनामा प्रशारणलाइनमा पनि समस्या देखिएपछि निर्माणका काममा ढिलाई हुँदा फेरि भाका सर्ने देखिएको हो। तर आयोजना प्रमुख श्रेष्ठले भने नयाँ टावर एक दुई महिनाभित्रै बनिसक्ने बताए।
यो आयोजना पूर्ण स्वदेशी लगानीमा बनिरहेको छ। आर्थिक वर्ष २०६७/६८ मा शुरु भएको यो आयोजनाको २०७१ साल चैतलाई निर्धारित सम्पन्न मिति मानिएको थियो तर पटकपटक गरी उक्त अवधि थपेर २०७७ पुस सम्म पुर्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।