काठमाडौं- चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासिक अवधिमा जीवन बीमा कम्पनीहरुले गत वर्षको भन्दा ३१ प्रतिशतले व्यवसाय विस्तार गरेका छन्। १९ वटा जीवन बीमा कम्पनीले तीन महिनाको अवधिमा ३२ अर्ब ३२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन्।
गत आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासिक अवधिमा जीवन बीमा कम्पनीले २४ अर्ब ६६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए। यसवर्ष असोज मसान्तसम्ममा सबैभन्दा धेरै नेपाल लाइफले ९ अर्ब एक करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। नेपाल लाइफको बीमा शुल्क आर्जन जम्मा जीवन बीमा कम्पनीले आर्जन गरेको बीमा शुल्क आर्जनको २८ प्रतिशत हो।
त्यस्तै दोस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेसनले ५ अर्ब ५ करोड रुपैयाँ आर्जन गरेको छ। तेस्रोमा नेपाल सरकारको पुर्ण स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थाले चार अर्ब ३५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। नयाँ जीवन बीमा कम्पनी युनियन लाइफले पाँचौ स्थान ओगटेको छ। युनियनले पुराना बीमा कम्पनीलाई पछाडि पार्दै एक अर्ब ५२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो।
सबैभन्दा कम भने महालक्ष्मी जीवन बीमा कम्पनीले २४ करोड रुपैयाँ आर्जन गरेको छ। यो सबैभन्दा कान्छो जीवन बिमा कम्पनी हो। नयाँको तुलनामा पुराना बीमा कम्पनीहरुकै वृद्धिदर धेरै रहेको छ। पुराना बीमा कम्पनीको पुराना पोलिसीको पनि प्रिमियम संकलन हुने भएकाले नयाँको तुलनामा पुरानाको बढी देखिएको हो।
बीमा समितिले नयाँ १० जीवन बीमा कम्पनीलाई जीवन बीमा व्यावसाय गर्ने अनुमति प्रदान गरे सँगै जीवन बीमा व्यवसाय बढिरहेको छ। कोभिड १९ का कारण विभिन्न पेसा व्यवसायमा ठूलो असर पारे पनी जीवन बीमा व्यवसाय भने थप सुधार भएको हो। अनिश्चितताको व्यवसाय गर्ने जीवन बीमा कम्पनीहरुले कोभिड महामारीको अवधिमा पनि राम्रो व्यवसाय गरिरहेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।