काठमाडौं–गत सिजनको विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को प्ले अफमा प्रवेश गरेको छ।
दुबईमा बिहीबार राति भएको खेलमा चेन्नई सुपर किङ्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेपछि मुम्बई प्ले अफमा पुगेको हो।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा चेन्नाईले कोलकातालाई ६ विकेटले पराजित गरेको थियो। कोलकाताले दिएको १७३ रनको लक्ष्य चेन्नाईले २० ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो ।
तालिकाको पुछारमा रहेको चेन्नाईले कोलकातालाई हराएपछि शीर्ष स्थानको मुम्बई प्ले अफ पुग्ने पहिलो टिम बनेको हो।
मुम्बईले १२ खेलमा १६ अंक जोडेको छ भने तालिकाको शीर्ष स्थानमा रहेको छ।
अब बाँकी रहेको २ खेल गुमाए पनि मुम्बई शीर्ष चारमा रहनेछ ।
चेन्नाई कोलकातासँग पराजित भएको भए मुम्बईले प्ले अफ पुग्न अझै एक खेल कुर्नु पर्ने थियो। अब तीन टिमले प्ले अफमा स्थान बनाउने छन् । जसका लागि ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
तालिकाको दोस्रो स्थानको रोयल च्यालेन्जर्स बैंगलोर र तेस्रो स्थानको दिल्ली क्यापिटल्सले १२ खेलमा १४ अंक जोडेका छन् । दुवै टिम प्ले अफको मुख्य दाबेदार टिम हुन् ।
यस्तै चौंथो स्थानको किङ्स इलाभेन पन्जाब र पाँचौको कोलाकाताको समेत प्ले अफमा सम्भावना रहेको छ । पन्जाब र कोलकाताले १२ खेलमा समान १२–१२ अंक जोडेका छन्।
सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सको पनि प्ले अफ सम्भावना रहेको छ । दुवैले १०–१० अंक जोडेका छन्। चेन्नाई भने प्रतियोगिताबाट बाहिरिइसकेको छ। चेन्नाई आईपिएलमा पहिलो पटक प्ले अफ पुग्न नसकेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।