काठमाडौं- देशभरको कुल कोरोना संक्रमितमध्ये ४३ प्रतिशतभन्दा धेरै कोरोना संक्रमित काठमाडौं उपत्यकामा मात्र भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ।
मन्त्रालयले बिहीबार अपडेट गरेको विवरण अनुसार हालसम्म देशभर १ लाख ६४ हजार ७१८ जना संक्रमित भेटिएका छन् भने उपत्यकाका तीन जिल्लामा मात्र ७१ हजार ४ सय जना। यो तथ्यांक अनुसार देशका कुल संक्रमितको ४३ दशमलव ३ प्रतिशत उपत्यकामा भेटिएका हुन्।
हालसम्म काठमाडौं जिल्लामा मात्र ५७ हजार ९०९ जना संक्रमित भेटिएका छन् भने ललितपुरमा ८ हजार ९५ जना संक्रमित पुष्टि भएका छन्। यस्तै भक्तपुरमा ५ हजार ३९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
हाल ३८ हजार ९५२ जना सक्रिय संक्रमित छन् भने २ हजार ६८९ जना क्वारेन्टाइनमा रहेका छन्। नेपालमा हालसम्म ९०४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ।
नेपालमा हालसम्म १४ लाख १९ हजार ६४ जनाको पिसिआर परीक्षण गरिएको छ। नेपालमा भेटिएका कोरोना संक्रमितमध्ये १ लाख २४ हजार ८६२ जना भने निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।