काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएकाे छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार चार खेलाडीलाई कोरोना देखिएको जनाएको छ। राष्ट्रिय टिमको प्रशिक्षणमा बोलाईएका ३४ खेलाडी मध्ये ४ जनालाई कोरोना देखिएको एन्फाले जनाएको छ।
कोरोना देखिएका ४ खेलाडीलाई सेल्फ आईसोलेसनमा राखिएको एन्फाले जनाएको छ। एन्फाले खेलाडीको नाम भने सार्वजनिक गरेको छैन।
नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि बिहीबारबाट प्रशिक्षण सुरु गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु प्रशिक्षणको पहिलो दिन ३० खेलाडी उपस्थित भएका थिए।
नेपालले बंगलादेशसँग कात्तिक र मंसिरमा गरी दुई मैत्रीपूर्ण खेल खेल्दैछ। ढाकास्थित बंगबन्धु रंगशालामा हुने पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ गते हुनेछ। दोस्रो मैत्रीपूर्ण मंसिर २ गते हुनेछ।
फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपालले साफ च्याम्पियनसिपपछि बंगलादेशसँग खेलेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।