काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं मनमैजुस्थित त्रिशुली मिनरल एण्ड बेभरेज प्रालिलाई कारबाही गरेको छ।
विभागमा परेको उजुरीका आधारमा अनुगमन गर्दा उक्त कम्पनीले इजाजतबिनै भूमिगत पानी तानेर जार तथा बोटलमा हाली बजार पठाउने गरेको भेटिएको हो। पानी उद्योग संचालनको अनुमति नलिएको र गुणस्तरहीन पानी बेच्ने उक्त कम्पनीलाई विभागले ५० हजार रुपैयाँ जरिवाना गरेको छ।
अनुगमनका क्रममा उक्त उद्योगले अनुमतिबिनै भूमिगत पानी तान्ने गरेको र उक्त पानी प्रशोधनसमेत नगरी पिउनयोग्य भनी बजार पठाउने गरिएको भेटिएको हो।
गतहप्तामात्र विभागको टोलीले टोखा नगरपालिकामा अनुगमन गर्दा शुभलक्ष्मी फुड एण्ड बेभरेज प्रालिले उद्योग दर्ता र खाद्य अनुज्ञापत्रबिना भूमिगत पानी तानी बिक्री वितरण गरिरहेको भेटिएको थियो। उक्त कम्पनीले बजारमा पठाएको जारमा लेउ र किरा भेटिएपछि विभागले अनुगमन गरेको थियो।
पछिल्लो २ महिना अवधिमा मात्र विभागले करिब ५ दर्जन पानी उद्योगलाई कारबाही गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।