बागलुङ- बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाले पाँच दिनलाई वडा क्षेत्र सिल गरेको छ। दशै मनाउन गाउँ आएका व्यक्तिमा कोरोना पुष्टि भएपछि समुदायस्तरमा कोरोना फैलिन सक्ने अनुमान गर्दै संक्रमण रोकथाम गर्न मंगलबार साँझ ७ बजेदेखि कात्तिक १५ गते राति १२ बजेसम्म लागू हुनेगरी वडा क्षेत्र सिल गरेको हो।
वडाभित्र अत्यावश्यक अवस्थमा बिरामी बोक्ने गाडी, निर्माण सामग्री, खाद्यान्न र दूधको गाडी वडा कार्यालयसँग समन्वय गरी चलाउने र अन्य सवारी साधन, मोटरसाइकल समेत चलाउने पाइनेछैन। वडाध्यक्ष यामबहादुर श्रीसका अनुसार वडाभित्र पाँच जनाभन्दा बढी जमघट भई भेला हुन नपाउने गरी राेक लगाइएकाे छ। त्यस्तै अनावश्यक रुपमा आवतजावत गर्न पनि निषेध गरिएको छ।
संक्रमितको सम्पर्कम आएका व्यक्ति र समुदायस्तरमा संक्रमण फैलिन सक्ने हुँदा वडाबासी नागरिकलाई घरमै सुरक्षित रुपमा बस्न आग्रह गरिएकाे उनले बताए। समुदायस्तरमा भाइरस संक्रमण फैलिन नदिन कोभिड–१९ रोकथाम तथा प्रतिकार्य समन्वय समितिको निर्णयअनुसार वडा क्षेत्रलाई सिल गरिएको हो।
दसैं मनाउन भारत तथा राजधानी हुँदै आएका व्यक्तिलाई कोरोना देखिएको थियो। वडा कार्यालयको समन्वयबिना घरमा आएर बस्ने र परिवार तथा छिमेकमा घुलमिल हुँदा गाउँ-गाउँमा कोरोनाको त्रास बढेको वडाध्यक्ष श्रीसको भनाइ छ। गाउँपालिका अध्यक्ष अम्बर बहादुर थापाले समुदायमा फैलन नदिन नगरले कन्ट्याक्ट ट्रेसिङ गरिरहेकाे बताए।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।