काठमाडौं–जारी आइपिएलको शनिबार भएको खेलमा किङ्स इलाभेन पन्जाबले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पन्जाबले हैदरावादलाई १२ रनले पराजित गरेको हो ।
पन्जाबले दिएको १२७ रनको सामान्य लक्ष्य पछ्याएको हैदरावादले १९.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र ११४ रन बनाउन सक्यो। पन्जाबको जारी सिजनमा यो पाँचौ जित हो।
सनराइजर्स हैदरावादका लागि कप्तान डेभिड वार्नरले ३५ रन जोडे। उनले २० बल खेल्दै तीन चौका र दुई छक्काको मद्दतमा ३५ रन जोडेका हुन्। त्यस्तै विकेटकीपर/ब्याट्सम्यान जोनी बेयरस्टोले १९ रन जोडे।
मनिष पाण्डेय १५, अब्दुल सामद ७ , जोसन होल्डर ५, प्रियाग गार्ग ३ र राशिद खान शून्य रनमा आउट भए। विजय शंकरले २६ रनको योगदान दिए। उनले २७ बलमा ४ चौका प्रहार गर्दै २६ रन जोडेका हुन्।
पन्जाबको जितका लागि क्रिस जोर्डन र अर्सदिप सिंहले समान तीन तीन विकेट लिए। त्यस्तै मोहम्मद सामी, मुरुगन आश्विन र रवि बिसनोईले एक–एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२६ रन जोडेको थियो। मध्यम सुरुवात गरेको पन्जाबले पहिलो विकेटको रुपमा मन्दीप सिंहलाई गुमाएको थियो। मन्दीप पाँचौ ओभरको अन्तिम बलमा राशिद खानको हातबाट क्याच आउट हुँदै पेभिलियन फर्किएका थिए। उनले १७ रन जोडे।
त्यस्तै दोस्रो विकेटको रुपमा २० रनमा खेलाडी रहेका क्रिस गेललाई गुमाएको पन्जाबले तेस्रो विकेटको रुपमा भने कप्तान केएल राहुलाई गुमाएको थियो । राहुलले २७ बल खेल्दै दुई चौका र एक छक्काको मद्दतमा २७ रन जोडेका थिए।
ग्लेन म्याक्सवेलले १२ रन जोड्दा क्रिस जोर्डन ७, मुरुगन आश्विन ४ र दीपक हूडा शून्यमा आउट भएका थिए । निकोलस पूरनले भने ३२ रनको अविजित पारी खेले । उनले २८ बलमा दुई चौका प्रहार गर्दै २८ रन जोडेका हुन्।
पन्जाबलाई सस्तैमा समेट्न हैदराबादका लागि सन्दीप शर्मा, जोसन होल्डर र राशिद खानले समान दुई–दुई विकेट लिएका थिए ।
यस जितसँगै पन्जाब ११ खेलबाट १० अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । यता समान खेल खेलेको हैदरावादको भने यो सातौ हार हो । चार खेल जितेको हैदरावादको ८ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।