काठमाडौं–काठमाडौंको सुन्धारास्थित नेपाल मदनी मस्जिदमा तोडफोड गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रत्नकाजी महर्जन र एक जना डोजर चालक छन्।
महानगरीय प्रहरी परिसरका अनुसार शनिबार बिहान मस्जिद तोडफोड भएको थियो। परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले तोडफोड गर्न लगाउने महर्जन र उनले खटाएका डोजर चालकलाई पक्राउ गरिएको बताए।
एक सय वर्षभन्दा पुरानो भनिएको यो मस्जिदको जग्गा आफ्नो दावी गर्दै महर्जनले तोडफोड गर्न लगाएका थिए। मस्जिद तोडफोड गर्न लगाउने व्यक्ति नै महर्जन भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।
निर्माणाधीन धरहराको ठीक पछाडि ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ।
यो मस्जिद २०७२ सालको भूकम्पले धरहरा ढल्दा क्षतिग्रस्त बनेको थियो। यसलाई मुस्लिम समुदायले अस्थायी रूपमा संरचना बनाई प्रयोग गरिरहेका छन्।
एक सय वर्ष अघि मुस्लिम धर्मावलम्बीहरू काठमाडौं आउजाउ गर्दा नमाज पढ्ने स्थानको रूपमा स्थापित भएको यो मस्जिदमा अहिले चार प्रहरको नमाज पढ्न मस्लिम समुदाय पुग्ने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।