काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले दसैंका अवसरमा जारी गरेको शुभकामना सन्देशमा नेपालको पुरानै नक्सा देखिएको छ।
निशानछाप भित्रको उक्त नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी छुटेका छन्। नेपालको भूभाग छुटेको भन्दै सरकारको प्रस्तावमा केही समयअघि मात्रै संसदले नयाँ नक्सा पारित गरेको थियो।
उक्त नक्सा प्रचलनमा ल्याउन थालिएको थियो। नेपालले यी भूभाग समेटेर जारी गरेको नक्साप्रति भारतको भने असन्तुष्टि छ।
भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग भेट भएको पर्सिपल्ट आएको प्रधानमन्त्रीको शुभकामना सन्देशमा पुरानै नक्सा प्रयोग हुनुलाई अनेक कोणबाट विश्लेषण गर्न थालिएको छ।
शुक्रबार बिहान ९:२३ मा प्रधानमन्त्रीको निजी ट्विटर खाताबाट शुभकामना जारी भएको थियो। उनले अंग्रेजी भाषामा पनि शुभकामना दिएका छन्। उक्त सन्देशको नक्सामा त्रुटि रहेको धेरैले औंल्याएको भए पनि सच्याइएको छैन। यसले थप सन्देह पैदा गरेको छ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रका शर्माले यसलाई सामान्य त्रुटि मान्ने नसकिने बताएका छन्। यसमा गम्भीर विमति दर्ज गर्न माग गर्दै उनको प्रश्न छ, ‘देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा बिसर्जन?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।