काठमाडौं- प्रतिनिधि सभा सभामुख अग्निप्रसाद सापकोटाले दशैं, तिहार, छठलगायतका राष्ट्रिय पर्व र नेपाल सम्वत् ११४१ को शुभकामना दिँदै यथसम्भव बसोबास गरिरहेको स्थानमा नै चाडपर्व मनाउन आग्रह गरेका छन्। बिहीबार एक सूचना जारी गर्दै सापकोटाले वर्षभरि आइरहने चाडपर्वहरू नेपाली संस्कृतिका मौलिक विशेषता भएको भन्दै कोभिड-१९ महाव्याधीलाई परास्ता गर्ने संकल्पका लागि आपसी छलफल गर्ने अवसर बन्ने विश्वास व्यक्त गरेका छन्।
‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो देशमा मनाइने चाडपर्वहरुले विविधताबीचको एकता, सामाजिक सद्भाव एवम् व्यक्ति, परिवार र समाजलाई आपसमा जोड्ने काम गर्दै आएका छन्‚’ सूचनामा भनिएको छ‚ ‘यो वर्ष प्राकृतिक विपत्ति र कोभिड–१९ को महामारीका कारण ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’
साथै उनले विगतमा जस्तो यस पटक पारिवारिक पुनर्मिलन र सामाजिक अन्तरघुलनका लागि सहजता नभएको बताएका छन्। साथै परिवर्तित समयलाई ख्याल गर्दै, कोरोना महामारीबाट सिर्जित विषम परिस्थितिका कारण यसपटक परिवारजनमा सीमित भएर यथासम्भव बसोबास गरिरहेको स्थानमा नै चाडपर्व मनाउन सबैमा अपिल समेत गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।