काठमाडौं- रोयल च्यालेन्जर्स बैंग्लोर इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको दोस्रो स्थानमा उक्लिएको छ। बुधबार राति भएको खेलमा बैंग्लोरले कोलकाता नाइट राइडर्सलाई आठ विकेटले पराजित गरेको हो।
८५ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको बैंग्लोरले १३.३ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेटायो। बैंग्लोरका लागि देवदुत्त पाडिकलले २५, गुर्किरत सिंहले अविजित २१, कप्तान विराट कोहलीले अविजित १८ र आरोन फिन्चले १६ रन बनाए। सामान्य लक्ष्य पछ्याएको बैंग्लोरलाई जित निकाल्न कठिन भएन।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा आठ विकेटको क्षतिमा ८४ रन मात्रै बनायो। कोलकाताका लागि कुनै पनि ब्याट्सम्यानले राम्रो खेल्न सकेनन्। तीन रन हुँदा तीन विकेट गुमाएको कोलकाताका लागि कप्तान इयोन मोर्गनले ३०, लकी फर्गुसनले अविजित १९ र कुलदीप यादवले १२ रन बनाए। बलिङतर्फ बैंग्लोरका सबै बलरले किफायती बलिङ गरे। मोहम्मद सिराजले चार ओभरमा दुई मेडनसहित आठ रन खर्चिएर तीन विकेट लिए। त्यस्तै, युजभेन्द्र चाहालले दुई विकेट लिए।
यो जितसँगै बैंग्लोर आइपिएलको अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो। १० खेलबाट सात खेलमा जित र तीन खेलमा हार ब्यहोरेको बैंग्लोरको १४ अंक छ। पराजित कोलकाता भने चौथो स्थानमा छ। कोलकाताको १० खेलमध्ये पाँच खेलमा जित र पाँच खेलमा हारसहित १० अंक छ। लिगको शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्सको भने १० खेलबाट १४ अंक नै छ। तर नेट रनरेटमा बैंग्लोरभन्दा दिल्ली अघि छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।