काठमाडौं- एनआइसी एसिया बैंकले दसैँका बेला डिजिटल रकम स्थानान्तरण गर्दा १० प्रतिशत रकम थप गरिदिने अफर ल्याएको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै दसैँमा आफन्तजनलाई दक्षिणा दिन एनआइसी बैंकको मोबाइल बैंकिङ्ग (मोबैंक)मार्फत् प्रदान गरेको दक्षिणा रकमको थप १० प्रतिशत वा अधिकतम एक सय रूपैयाँसम्म आफ्नो तर्फबाट थप गरिदिने अफर ल्याइएको बताएको हो।
यो योजना विजयादशमीको दिनदेखि कोजाग्रत पूर्णिमासम्म लागू हुने बैंकले जनाएको छ। योजना अवधिमा बैंकको तर्फबाट एक जनाले अधिकतम पाँच सय रूपैयाँसम्म दक्षिणा प्राप्त गर्न सक्नेछन्। उक्त १० प्रतिशत रकम बैंकले योजना सम्पन्न भएको ७ दिनभित्र दक्षिणा प्राप्त गर्ने ग्राहकको बैंक खातामा जम्मा गर्ने जानकारी दिएको छ।
यो योजनाअन्तर्गत मोबैंक एप प्रयोग गरी दक्षिणा दिँदा बैंकका ग्राहकले सो एपमा रहेको ‘डिजिटल दक्षिणा’मा थिची आफूले दिन चाहेको रकम, एकाउन्ट नम्बर, खातावालाको नाम तथा रिमार्क्समा दक्षिणाजस्ता विवरण अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने बैंकले उल्लेख गरेको छ।
बैंकले मुलुकभर ३२७ शाखा कार्यालयहरू, ४७० एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ भने २२ लाखभन्दा बढी ग्राहक भएको बताइएको छ। बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।