काठमाडौँ- नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना संक्रमितको संख्या बढ्न सक्ने आँकलन भएकाले यसको पूर्वतयारीमा लाग्न पृतनापतिहरूलाई निर्देशन दिएका छन्। भर्चुअल रूपमा भएको पृतनापतिहरूको तीन दिने बैठकलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले यस्तो बताएका हुन्।
बैठकमा जङ्गी अड्डाका विभिन्न महानिर्देशनालय, निर्देशनालय, विभाग र कार्यालयबाट आ-आफ्नो विभागको जिम्मेवारी सम्बन्धि विषयहरुको कार्य प्रगतिको समीक्षा पनि भएको थियो। बैठकमा कोभिड-१९ बाट सिर्जित अवस्था तथा आउन सक्ने सुरक्षा चुनौती तथा लिनुपर्ने कार्यनीति सम्बन्धमा सुझावहरु सहितको प्रस्तुती गरेका थिए।
छलफलबाट निस्किएका निचोडहरुले भविष्यको लागि महत्वपूर्ण मार्गदर्शन गर्ने विश्वास व्यक्त गरेको थियो। थापाले सो अवसरमा महामारीको समयमा आफ्नो फौज र तिनका परिवारहरुको स्वास्थ्य सुरक्षामा विशेष ध्यान पुर्याउन पनि निर्देशन दिएका थिए।
तीन दिने सम्मेलन मंगलबार सम्पन्न भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।