काठमाडौं- कोभिड १९ संक्रमणको उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय तत्काल फिर्ता गर्नुुपर्ने कांग्रेस नेताहरुले बताएका छन्। नेता प्रकाशमान सिंह र प्रकाशशरण महतले सरकारले गरेको निर्णय संविधान विपरीत भएको भन्दै तत्काल फिर्ता लिन माग गरेका हुन्।
संविधानले ग्यारेन्टी गरेअनुसार सरकारले नागरिकको जीवन र स्वास्थ्य सुरक्षा गर्न असफल भएको समेत उनीहरूको भनाइ छ। कोभिड-१९ संक्रमण बढ्दै गएको अवस्थामा सरकार परीक्षण र उपचारबाट पछाडि हटेर आफ्नो उपचार आफै गर्न भन्नु गैरजिम्मेवारपूर्ण कदम भएको नेता सिंहको भनाइ छ।
मंगलबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेता सिंहले सरकार कोरोना संक्रमण रोकथाम र नागरिकको जीउने अधिकारको विषयलाई बेवास्ता गर्दै गैरजिम्मेवार रुपमा प्रस्तुत भएको बताएका हुन्।
यस्तै कांग्रेस सह–महामन्त्रीसमेत रहेका नेता महतले संविधानले दिएको आधारभूत स्वास्थ्यको अधिकार विपरीत सरकारले निर्णय गरेको बताए। जिम्मेवारीबाट पन्छिने गरी आएको सरकारको निर्णय खेदजनक भएको पनि उनको भनाइ छ।
कांग्रेसले दशैंपछि सुरु हुने संसदको विशेष अधिवेशन र सडकमार्फत समेत विरोध गर्ने बताए। सरकारमा बस्नेहरुले राज्यकोषलाई आफूखुशी खर्च गर्न हुने तर जनताको आधारभुत आवश्यकता पूर्ति गर्न साधन स्रोत भएन भनेर पन्छिनु गैरजिम्मेवारपूर्ण कदम भएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।