काठमाडौं–चितवन, बुटबल र धरानमा आज थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ।
चितवनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमित एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्ध रहेको कलेजले जनाएको छ।
निमोनियासम्बन्धी उपचारका लागि असोज २९ गते अस्पताल भर्ना भएका वृद्धलाई कात्तिक ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। उनको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ। कोरोना सङ्क्रमण पुष्टि भई कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
त्यसैगरी चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–७ का ५० वर्षीय पुरुष रहेको कलेजले जनाएको छ। गत असोज १७ गते सर्पले डसेको शङ्का लागेर अस्पताल भर्ना गरिएकोमा उनमा १८ असोजमा कोरोना पोजेटिभ देखिएको थियो। स्वासप्रस्वासको समस्या आएपछि उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको हो।
स्तै, लुम्बिनी प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। रुपन्देही जिल्ला बुटवल उपमहानगरपालीका ११ निवासी ४१ वर्षीया महिलाको मंगलबार बिहान ५.१० बजे मृत्यु भएको हो।
उनलाई ज्वरो र स्वाप्रस्वासमा समस्या आएपछि अस्पताल ल्याइएको थियो। उनी कार्तिक ३ गतेको कोरोना पोजेटिभ भई अस्पतालमा भर्ना भएकी थिइन्।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। इटहरी सुनसरीका ५६ वर्षीय पुरुष उपचारका क्रममा सोमबार बेलुका साढे ९ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्त डा आशिष श्रेष्ठले जानकारी दिए।
अस्पतालका अनुसार उनको कार्तिक १ गते कोरेना पोजेटिभ आएको थियो। उनी कार्तिक ३ गते अस्पतालमा भर्ना भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।