काठमाडौं–विभिन्न ७ वर्गका व्यक्तिहरुले कोरोनाको निःशुल्क परीक्षण तथा उपचार सेवा पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको उपचारवापत अस्पतालहरुलाई अनुदान उपलब्ध गराउनेसम्बन्धी (दोस्रो संशोधन) आदेश २०७७ अनुसार विभिन्न ७ वर्गका व्यक्तिहरुलाई निःशुल्क गरिने जनाएको हो।
निःशुल्क सुविधा पाउनेहरुमा विपन्न, अशक्त, असहायक, असहाय एकल महिला, अति अपांगता, ज्येष्ठ नागरिक र अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरु रहेका छन्।
निःशुल्क सुविधा पाउन विपन्नले विपन्न परिचयपत्र वा विपन्न नागरिकलाई उपचारसम्बन्धी निर्देशिकाअनुसारको सिफारिस वा स्वयं घोषणामध्ये एक कागजात पेश गर्नुपर्नेछ । यस्तै, अशक्तका लागि अशक्तताको प्रमाणपत्र वा स्वयं घोषणा, असहायका लागि सिफारिस वा स्वयं घोषणा, ज्येष्ठ नागरिकका लागि ७० वर्ष पुगेको नागरिकताको प्रमाणपत्र वा उमेरको स्वयं घोषणाको कागजात पेश गर्नुपर्नेछ।
मन्त्रालयले सम्बन्धित व्यक्तिबाट उल्लेखित आधारहरु माग गर्न वा निजका आफन्तबाट प्रमाणका कागजात लिएर निःशुल्क परीक्षण तथा उपचार गर्न भनेको छ। तर आकस्मिक उपचारका लागि आधार या प्रमाण नभएकै आधारमा उपचारबाट वन्चित गर्न नपाइने र बिरामीको आकस्मिक उपचारको व्यवस्थापन गरी आवश्यक आधार प्रमाणहरु संकलन गर्न पनि मन्त्रालयले भनेको छ।
निःशुल्क परीक्षण तथा उपचार र सशुल्क परीक्षण तथा उपचारमा कुनै प्रकारको विभेद गर्न नपाइने पनि मन्त्रालयले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।