काठमाडौं- राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा चेन्नाई सुपर किंग्सविरुद्ध जित निकालेको छ। सोमबार राति भएको खेलमा चेन्नाईलाई राजस्थानले सात विकेटले पराजित गरेको हो।
१२६ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको राजस्थानले १७.३ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेटायो। राजस्थानलाई जिताउन जस बटलरले उत्कृष्ट प्रदर्शन गरे। उनले ४८ बलमा सात चौका र दुई छक्का प्रहार गर्दै नटआउट ७० रन बनाए। त्यस्तै, कप्तान स्टेभन स्मिथले अविजित २६ रन बनाउँदा बेन स्टोक्सले १९ रन बनाए। बलिङतर्फ चेन्नाईका दीपक चाहारले दुई विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङको निर्णय गरेको चेन्नाईले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १२५ रन मात्रै बनायो। चेन्नाईका लागि कुनै पनि ब्याट्सम्यानले राम्रो खेल्न सकेनन्। रविन्द्र जडेजाले अविजित ३५ रन बनाउँदा कप्तान महेन्द्रसिंह धोनी २८ र साम कुरन २२ रनमा आउट भए।
यो जितसँगै राजस्थानले अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। १० खेलमध्ये चार खेलमा जित र ६ खेलमा हार ब्यहोरेको राजस्थानले आठ अंक बनाएको छ। पराजित चेन्नाईको प्ले अफमा पुग्ने सम्भावना कमजोर बनेको छ। अंक तालिकाको पुछारमा रहेको चेन्नाईको १० खेलमध्ये तीन खेलमा जित र सात खेलमा हारसहित ६ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।