काठमाडौं- निजामती कर्मचारी अस्पतालमा उपचाररत कोरोना संक्रमितले क्यान्टिनमा नगद जम्मा गरेपछि मात्र खाना पाउने भएका छन्। अस्पतालले सोमबार एक सूचना जारी गर्दै कोरोना सङ्क्रमित भई उपचाररतले खानाको लागि क्यान्टिनमा अग्रिम रूपमा नगद जम्मा गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिएको हो।
‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार कोरोना सङ्क्रमण भई उपचार बिरामीहरुले कार्तिक २ गतेदेखि लागू हुनेगरी सम्पूर्ण खर्च बिरामीले व्यहोर्नुपर्ने जानकारी गराइन्छ’ सूचनामा थप भनिएको छ, ‘साथै खाना अस्पताल क्यान्टिनमा नगद धरौटी राखी उपलब्ध हुने जानकारी गराइन्छ।’
कार्तिक दुई गते सरकारले कोरोना सङ्क्रमितको उपचार सङ्क्रमित आफैँले व्यहोर्नुपर्ने निर्णय गरेको थियो। महामारीमा सांसदलाई दसैँभत्ता बाँड्ने तर नागरिकको उपचार गर्नै पर्ने संवैधानिक दायित्वबाट सरकार पछि हटेको भन्दै सामाजिक सञ्जालमा सरकारको तीव्र विरोध भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।