काठमाडौं– किंग्स इलाभेन पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा तेस्रो जित निकालेको छ। आइतबार राति भएको रोमाञ्चक खेलमा पञ्जाबले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको हो।
१७७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको किंग्स इलाभेन पञ्जाबले २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रन नै बनाएपछि खेल सुपर ओभरमा धकेलिएको हो। पञ्जाबका कप्तान केएल राहुलले ७७ रन बनाए। उनले ५१ ब्लमा सात चौका र तीन छक्का प्रहार गरे। त्यस्तै, क्रिस गेल र निकोलस पुरनले समान २४–२४ रन बनाए। दीपक होडा अविजित २३ र क्रिस जोर्डनले १३ रनको योगदान दिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रन बनाएको थियो। मुम्बईका क्विन्टन डि ककले ५३ र केइरन पोलार्डले मात्र १२ बलमा चार छक्का र एक चौका प्रहार गर्दै अविजित ३४ रन बनाए। त्यस्तै, क्रुनाल पाण्ड्याले ३४ र नाथन काउल्टर नाइलले अविजित २४ रन जोडे। बलिङतर्फ पञ्जाबका अर्शदीप सिंह र मोहम्मद सामीले समान २–२ विकेट लिए।
पञ्जाबले १७६ रन नै बनाएपछि सुपर ओभरमा धकेलिएको खेलमा दुई पटक सुपर ओभर भयो। क्रिकेटमा यस्तो अपवादमा मात्रै हुने गर्छ। पहिलो सुपर ओभरमा पञ्जाबले पाँच रन बनाउँदा दुई विकेट गुमाएको थियो। ६ रनको जवाफी ब्याटिङ गरेको मुम्बईले पनि पाँच रन नै बनाएको थियो। अन्तिम बलमा कप्तान केएल राहुलले क्विन्टन डि ककलाई रन आउट गरेपछि सुपर ओभरमा पनि खेल बराबरीमै सकिएको थियो।
त्यसपछि भएको फेरि अर्को सुपर ओभरमा भने मुम्बईले पञ्जाबलाई १२ रनको लक्ष्य दियो। ब्याटिङमा आएका क्रिस गेलले पहिलो बलमै छक्का र दोस्रो बलमा एक रन जोडे। त्यसपछि कप्तान केएल राहुलले लगातार दुई चौका प्रहार गर्दै खेल जिताए।
जितपछि अंक तालिकाको पुछारमा रहेको पञ्जाब छैटौं स्थानमा उक्लिएको छ। पञ्जाबले ९ खेलबाट तीन खेलमा जित र ६ खेलमा हारसहित ६ अंक बनाएको छ। पराजित मुम्बईले भने शीर्ष स्थानमा उक्लिने मौकालाई गुमाएको छ। दोस्रो स्थानमा रहेको मुम्बईको ९ खेलबाट ६ खेलमा जित र तीन खेलमा हारसहित १२ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।