काठमाडौं– कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सनराइजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गरेको छ।
जारी आइपिएलमा पाँचौं जित निकाल्ने क्रममा कोलकाताले हैदराबादमाथि सुपर ओभरमा जित निकालेको हो। १६४ रनको मध्यम लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेटको क्षतिमा १६३ रन नै बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो। हैदराबादका लागि कप्तान डेभिड वार्नरले अविजित ४७ रन बनाउँदा जोनी बैरस्टवले ३६, केन विलियम्सनले २९ र अब्दुल सामदले २३ रन बनाएका थिए। बलिङतर्फ भने लकी फर्गुसनले तीन विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १६३ रन बनाएको थियो। कोलकाताका शुबमन गिलले ३६, कप्तान इयोन मोर्गनले ३४, नितिश राना र दिनेश कार्थिकले समान २९–२९ रन बनाउँदा राहुल त्रिपाठीले २३ रन बनाए।
सुपर ओभरमा भने हैदराबादले दुई रन बनाउँदा दुई विकेट गुमायो। कोलकाताका लागि फर्गुसनले उत्कृष्ट बलिङ गरे। सुपर ओभरमा हैदराबादलाई पराजित गर्दा जितको मुख्य श्रेय नै फर्गुसनलाई जान्छ। तीन रनको लक्ष्यसहित ब्याटिङ गरेको कोलकाताले चौथो बलमा खेल जित्यो।
९ खेलमध्ये पाँच खेलमा जित, र चार खेलमा हार व्यहोरेको कोलकाता १० अंक बनाएर अंक तालिकाको चौथो स्थानमा छ। पराजित हैदराबाद पाँचौं स्थानमा छ। हैदराबादले ९ खेलमध्ये तीन खेलमा जित र ६ खेलमा हार ब्यहोर्दै ६ अंक मात्रै बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।