काठमाडौं- चेन्नाई सुपर किंग्सका तिब्रगतिका बलर ड्वायन ब्राभो करिब दुई साता मैदान बाहिर रहने भएका छन्। शनिबार राति दिल्ली क्यापिटल्सविरुद्ध बलिङ गर्ने क्रममा ब्राभो घाइते भएका थिए।
चेन्नाईका मुख्य प्रशिक्षक स्टेफन फ्लेमिङले घाइते भएका ब्राभो केही दिन मैदान बाहिर रहने जानकारी दिएका हुन्। फिल्डिङ गर्ने क्रममा ब्राभो घाइते भएका थिए भने उनले दिल्लीविरुद्धको अन्तिम ओभर बलिङ गर्न सकेनन्।
ब्राभोले बलिङ गर्न नसक्ने भएपछि कप्तान महेन्द्रसिंह धोनीले रविन्द्र जडेजालाई अन्तिम ओभर बलिङ गर्न दिएका थिए। ब्राभोले दिल्ली विरुद्ध शनिबार तीन ओभर बलिङ गर्दै २३ रन खर्चिएर एक विकेट लिए। ब्राभोले अन्तिम ओभर बलिङ गर्न नसक्ने भएपछि चेन्नाई हारेको मुख्य प्रशिक्षक फ्लेमिङको तर्क छ। हुन त, चेन्नाईका योजनाअनुसार अन्तिम ओभर ब्राभोले गर्दै आएका थिए।
पछिल्लो समयमा ब्राभोलाई चोटले सताउने गरेको छ। ३७ वर्षीय ब्राभो गत महिना मात्रै क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा उनी घाइते भएका थिए। चोटग्रस्त भएकै कारण जारी आइपिएलमा ब्राभोले चेन्नाईका सुरुवाती तीन खेल गुमाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।