काठमाडौं- दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सातौं जित निकालेको छ। शनिबार राति भएको खेलमा चेन्नाई सुपर किंग्सलाई पाँच विकेटले पराजित गर्दै दिल्ली फेरि लिगको शीर्ष स्थानमा उक्लिएको हो।
१८० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको दिल्लीले एक बल बाँकी रहँदा पाँच विकेटको क्षतिमा लक्ष्य भेटायो। दिल्लीको जितमा शिखर धवनले शतक बनाए। दिल्लीको जितको मुख्य श्रेय नै शिखर धवनलाई जान्छ। ओपनर शिखर धवनले ५८ बलमा १४ चौका र एक छक्का प्रहार गर्दै अविजित १०१ रन बनाए। त्यस्तै, मार्कस स्टोइनिसले २४ र कप्तान श्रेयस ऐयरले २३ रन बनाउँदा अक्षर पटेलले पाँच बलमा अविजित २१ रन बनाए। बलिङतर्फ चेन्नाईका दीपक चाहारले दुई विकेट लिए।
शारजाह रंगशालामा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाई सुपर किंग्सले २० ओभरमा चार विकेटको क्षतिमा १७९ रन बनाएको थियो। चेन्नाईका लागि फाफ डु प्लेसिसले ४७ बलमा ६ चौका र दुई छक्का प्रहार गर्दै ५८ रन बनाए। त्यस्तै, आम्बती रायुडुले २५ बलमा चार छक्का र एक चौका प्रहार गर्दै अविजित ४५ रन बनाए। शेन वाटसनले ३६ र रविन्द्र जडेजाले १३ बलमा चार छक्का प्रहार गर्दै अविजित ३३ रनको योगदान दिए। बलिङतर्फ दिल्लीका एनरिच नोर्टजेले दुई विकेट लिए।
यो जितसँगै दिल्ली फेरि अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। ९ खेलमध्ये सात खेलमा जित र दुई खेलमा हार ब्यहोरेको दिल्लीले १४ अंक बनाएको छ। दिल्ली प्लेअफ प्रवेश नजिक छ। ९ खेलमध्ये ६ खेलमा हार र तीन खेलमा जित निकालेको चेन्नाई भने ६ अंकसहित अंक तालिकाको छैटौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।