काठमाडौं- रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा छैटौं जित निकालेको छ। शनिबार भएको खेलमा बैंग्लोरले राजस्थान रोयल्सलाई सात विकेटले पराजित गरेको हो।
१७८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बैंग्लोरले दुई बल बाँकी रहँदा तीन विकेटको क्षतिमा लक्ष्य भेटायो। बैंग्लोरको जितमा नायक सावित भए एबी डि भिलियर्स। बैंग्लोरलाई अन्तिम दुई ओभरमा ३५ रन आवश्यक थियो। क्रिजमा थिए एबी डि भिलियर्स र गुर्किरत सिंह। १९ औं ओभरमा जयदेवको बलमा एबी डि भिलियर्सले लगातार तीन छक्का प्रहार गर्दै जित नजिक पुर्याएका थिए।
बैंग्लोरका लागि एबी डि भिलियर्सले २२ बलमा ६ छक्का र एक चौका प्रहार गर्दै अविजित ५५ रन बनाए। त्यस्तै, कप्तान विराट कोहलीले ४३, देवदुत्त पाडिकलले ३५ र गुर्किरत सिंहले अविजित १९ रन बनाए।
यसअघि टस जितेर दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ब्याटिङ थालेको राजस्थानले २० ओभरमा ६ विकेटको क्षतिमा १७७ रन बनाएको थियो। राजस्थानका लागि कप्तान स्टेभन स्मिथले ५७, रोविन उथप्पाले ४१ र जस बटलरले २४ रन बनाएका थिए। बलिङतर्फ क्रिस मोरिसले चार ओभरमा २६ रन खर्चिएर चार विकेट लिए। त्यस्तै, युजभेन्द्र चाहालको नाममा दुई विकेट रह्यो।
यो जितसँगै बैंग्लोरले ९ खेलमध्ये ६ खेलमा जित र तीन खेलमा हार ब्यहोर्दै १२ अंक बनाएको छ। बैंग्लोर अंक तालिकाको तेस्रो स्थानमा छ। पराजित राजस्थानको भने प्लेअफ यात्रा कमजोर बनेको छ। ६ खेलमा हार र तीन खेलमा जितसहित अंक तालिकाको पुछारदेखि दोस्रो स्थानमा रहेको राजस्थानको ६ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।