काठमाडौं- डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ। शुक्रबार राति भएको खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो।
अबुधावीमा भएको खेलमा मुम्बईले कोलकातालाई आठ विकेटले पराजित गरेको हो। १४९ रनको मध्यम चुनौती पछ्याउँदै ब्याटिङ गरेको मुम्बईले १६.५ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेटायो। मुम्बईको जितमा क्लिन्टन डि ककले उत्कृष्ट ब्याटिङ गरे। उनले ४४ बलमा ९ चौका र तीन छक्का प्रहार गर्दै अविजित ७८ रन बनाए। त्यस्तै, कप्तान रोहित शर्माले ३५, हार्दिक पाण्ड्याले अविजित २१ र सुर्यकुमार यादवले १० रन बनाए।
यसअघि टस जितेर पहिले ब्याटिङको थालेको कोलकाताले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १४८ रन बनाएको थियो। कोलकाताका लागि पट कुम्मिन्सले अविजित ५३ रन बनाए। उनले ३६ बलमा पाँच चौका र दुई छक्का प्रहार गरेका थिए। त्यस्तै, कप्तान इयोन मोर्गनले अविजित ३९ रन बनाउँदा शुबमन गिलले २१ रनको योगदान दिए। टप अर्डर ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा कोलकाताले मध्यम स्कोर बनाएको थियो। मुम्बईका राहुल चाहारले दुई विकेट लिए।
यो जितसँगै मुम्बई लिगको शीर्ष स्थानमा उक्लिएको छ। दिल्ली क्यापिटल्ससँग जारी लिगमा लुकमारी खेलिरहेको मुम्बईले आठ खेलमध्ये ६ खेलमा जित र तीन दुई खेलमा हारसहित १२ अंक बनाउँदै शीर्ष स्थानमा उक्लिएको हो। समान खेलबाट ६ खेलमा जित र दुई खेलमा हारसहित १२ अंक नै बनाएको दिल्ली अंक तालिकाको दोस्रो स्थानमा झरेको छ। आठ खेलबाट चार खेलमा जित र चार खेलमा हारसहित कोलकाता भने आठ अंक बनाएर लिगको चौथो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।