काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीहरुलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ।
कोरोनाको नियमित ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आवश्यक बाहेक गर्भवती, ज्येष्ठ नागरिक र दीर्घ रोगीहरुलाई बाहिर ननिस्कन आग्रह गरेको हो।
उनीहरुमा कोरोना संक्रमणको उच्च जोखिममा हुने भन्दै घरभित्रै बस्न मन्त्रालयको आग्रह छ।
अस्पतालहरुमा आइसियू भरिँदै गएकाले स्वास्थ्यको ख्याल गर्न प्रवक्ता गौतमले आग्रह गरे। परिवारका अन्य सदस्यहरु पनि उनीहरुको कम सम्पर्कमा रहन मन्त्रालयले सबैलाई भनेको छ।
‘गर्भवती, बालबालिका, दीर्घरोगी, ६० वर्षमाथिका तथा रोग प्रतिरोधात्मक कम भएका व्यक्तिहरु घरबाट बाहिर ननिस्कन आग्रह छ। संक्रमणको जोखिम बढ्दै गएको, अस्पतालको बेडहरु खचाखच भरिदै गएकाले आफ्नो स्वास्थ्यको ख्याल गर्न मन्त्रालयको अनुरोध छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।