काठमाडौं- किंग्स इलाभेन पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दोस्रो जित निकालेको छ। बिहीबार राति भएको खेलमा पञ्जाबले रोयल च्यालेन्जर्स बैंग्लोरलाई आठ विकेटले पराजित गरेको हो।
१७२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेटायो। पञ्जाबका लागि कप्तान केएल राहुलले अविजित ६१ रन बनाए। उनले ४९ बलमा पाँच छक्का र एक चौका प्रहार गरे। त्यस्तै, जारी सिजनमा पहिलो पटक खेलेका क्रिस गेलले शानदार प्रदर्शन गरे। उनले जारी सिजनको आफ्नो पहिलो खेलमा नै अर्धशतक बनाए। रन आउट हुनुअघि गेलले ४५ बलमा पाँच छक्का र एक चौका प्रहार गर्दै ५३ रन बनाए। यसअघिका सात खेलमा गेल स्वास्थ्य समस्याको कारण प्लेइङ सेट बाहिर थिए। गेलको अभावमा पञ्जाबले नराम्रो हार ब्यहोरिरहेको थियो। गेल आएसँगै पञ्जाबले पुनरागमन जित निकालेको छ। त्यस्तै, मयंक अग्रवालले ४५ रन बनाए। बलिङतर्फ बैंग्लोरका युजभेन्द्र चाहालले एक विकेट लिए।
यसअघि शारजाह क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ६ विकेटको क्षतिमा १७१ रन बनायो। बैंग्लोरका कप्तान विराट कोहलीले ४८, क्रिस मोरिसले अविजित २५, शिभम दुबले २३ र आरोन फिन्चले २० रन बनाए। बलिङतर्फ पञ्जाबका मोहम्मद सामी र मुरुगन अश्विनले समान २–२ विकेट लिए।
बैंग्लोरविरुद्धको दुबै खेल पञ्जाबले जितेको हो। यसअघि बैंग्लोरविरुद्धको पहिलो खेलमा पञ्जाबले ९७ रनले पराजित गरेको थियो।
आठ खेलबाट ६ खेलमा हार र दुई खेलमा जित निकालेको पञ्जाबले चार अंक बनाएको छ। पराजित बैंग्लोरले भने पराजित भएसँगै शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ। आठ खेल खेलेको बैंग्लोरको पाँच खेलमा जित र तीन खेलमा हारसहित १० अंक छ। लिगको तेस्रो स्थानमा बैंग्लोर छ। शीर्ष स्थामा रहेको दिल्ली क्यापिटल्सको आठ खेलबाट १२ अंक छ। दोस्रो स्थानमा रहेको मुम्बई इन्डियन्सको सात खेलबाट १० अंक छ। लिगको पुछारमा रहेको पञ्जाबलाई प्ले अफमा पुग्न निकै मुस्किल छ। शीर्ष चारभित्र पर्न पञ्जाबले अबका खेलहरु लगातार जित्दै जानुपर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।