काठमाडौं- काठमाडौंमा कोरोना संक्रमण लगातार बढिरहेको छ। दैनिक थपिने संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौंका हुन थालेका छन्। अहिले उपत्यकामा प्रत्येक दिन २ हजारभन्दा बढी संक्रमित थपिन थालेका छन्।
यो हप्ता लगातार उच्च बिन्दुमा संक्रमित काठमाडौंमा थपिएका छन्। देशभरका संक्रमितको करिब ७० प्रतिशत काठमाडौं उपत्यकामा भेटिन थालेका हुन्। काठमाडौं जिल्लामा अहिले ३७ हजार ३ सय ४० संक्रमित रहेका छन्। यसरी थपिएकामध्ये अधिकांश काठमाडौं महानगरभित्रका धेरै थिए।
तीमध्ये महानगरपालिकामा मात्र १६ हजारभन्दा बढी छन्।
महानगरमा असोज २१ गतेसम्म कोरोना संक्रमितको संख्या १६ हजार १ सय ५३ पुगेको छ। ५ सय नजिक पहिचान नखुलेका संक्रमित छन्। ज्यान गुमाउनेको संख्या ९३ पुगेको छ। महानगरका सबै वडामा संक्रमित संख्या एक सयभन्दा माथि पुग्न लागेको छ। सबै वडाका संक्रमितले ज्यान गुमाइरहेका छन्।
होम आइसोलेनमा बढे संक्रमित
महानगरका सबै वडामा संक्रमण फैलिइसकेको छ। महानगरको स्वास्थ्य शाखाले उपलव्ध गराएको तथ्यांकअनुसार होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या बढिरहेको छ भने अस्पताल र संस्थागत आइसोलेसनमा बस्नेको संख्या घटिरहेको छ। संक्रमितमध्ये ६ हजार ३ सय ५४ जना होम आइसोलेसनमा छन्।
यस्तै, अस्पतालमा ६ सय ६८ जना संक्रमित छन् भने संस्थागत आइसोलेसनमा ५ सय ८१ जना रहेको महानगरको सहरी स्वास्थ्य महाशाखाको तथ्यांकमा उल्लेख छ।
हालसम्म महानगरमा ८ हजार २ सय ७६ जना संक्रमणमुक्त भएका छन्। महानगरले २६ हजार १ सय ७० जनाको कन्ट्याक्ट ट्रेसिङ गरेको छ। तीमध्ये १० प्रतिशत अर्थात् २८ सय ७६६ जनाको रिपोर्ट पोजेटिभ आएको छ।
यी हुन् महानगरका हटस्पट
काठमाडौं महानगरका २५ वटा वडामा २ सयभन्दा बढी संक्रमित छन्। सबैभन्दा धेरै वडा नम्बर १५ स्वयम्भुमा छन्। स्वयम्भुमा १२ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्यु भएको छ। सँगै रहेको वडा नं १६ बालाजुमा १२ सय १९ जनामा संक्रमण पुष्टि भएको छ। यहाँ ५ जना संक्रमितले ज्यान गुमाएका छन्।
२०० भन्दा धेरै संक्रमित भएका हटस्पट वडाहरु, कहाँ, कति? (असोज २५सम्मको)

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।