सोल (दक्षिण कोरिया)- अध्ययनका लागि दक्षिण कोरिया आएका थप ४ नेपाली विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरु मलेसिया ट्रान्जिट भएर शनिबार दक्षिण कोरिया आइपुगेका थिए। यसअघि शनिबार नै आएका ११ नेपाली विद्यार्थीमा सोही दिन नै संक्रमण भएको पुष्टि भएको थियो।
थप ४ जना नेपाली विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको कोरियाको रोग नियन्त्रण केन्द्रलाई उद्धृत गर्दै कोरियाली संचारमाध्यमले जनाएका छन्। मलेसिया ट्राञ्जिट हुँदै शनिबार ४३ जना नेपाली कोरिया पुगेका थिए।
योसँगै दक्षिण कोरियामा सक्रिय संक्रमित नेपालीहरूको संख्या १६ पुगेको गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका महासचिव विमल सुवेदीले जानकारी दिए।
उनका अनुसार पछिल्लो समय थपिने अधिकांश नेपाली संक्रमित विभिन्न देशमा ट्राञ्जिट भएर कोरिया आउने विद्यार्थी छन्।
थपिएका १५ जना विद्यार्थीले उपचारमा लाग्ने सम्पूर्ण खर्च आफै तिर्नुपर्ने भएको छ। गत महिना कोरिया सरकारले विदेशबाट आउनेलाई कोरिया आएको १४ दिनभित्र कोरोना संक्रमण पुष्टि भएमा बिरामी स्वयंले सम्पूर्ण उपचार खर्च तिर्नुपर्ने व्यवस्था गरेको थियो।
गैरआवासीय नेपाली संघका अध्यक्ष यज्ञराज सुवेदीले यसअघि संक्रमित विद्यार्थीको उपचारमा करिब ७ लाख रुपैयाँ खर्च भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।