काठमाडौं- खोटाङको साकेला गाउँपालिका–२ रतन्छाका एक युवकमा कोरोना सङ्क्रमण देखिएपछि उक्त वडालाई एक हप्ताका लागि सिल गरिएको छ।
काठमाडौंबाट गएका युवामा कोरोना सङ्क्रमण पुष्टि भएपछि उक्त वडालाई कात्तिक ३ गतेसम्मका लागि सिल गरिएको जनाइएको छ।
सम्पूर्ण स्थानीयवासीलाई कोरोना संक्रमण हुनबाट बचाउन सिल गरिउको गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।
काठमाडौंलगायत देशका विभिन्न स्थान तथा विदेशबाट आएका समेत गरी २० जनाको स्वाब संकलन गरी परीक्षण गर्न पठाइएकोमा १ जनाको रिपोर्ट पोजिटिभ देखिएको हाे। वडामा संक्रमित भेटिएपछि गाउँपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवासमेत बन्द गरिएको गाउँपालिकाले जनाएको छ।
यस अवधिमा गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङ आसपासमा सञ्चालनमा रहेका होटल तथा पसल, बैंक तथा वित्तीय संस्था, साना तथा ठूला सवारी साधन बन्द गरिएको गाउँपालिकाले जनाएको छ । साकेला गाउँपालिकामा यसअघि एक जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
यससँगै दश स्थानीय तह रहेको जिल्लामा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३१ पुगेको छ। सङक्रमितमध्ये २१ जनाले कोरोना जितेर घर फर्किसकेका छन् भने १० जना उपचारमा रहेका छन्।
हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सबैभन्दा बढी सङ्क्रमित भेटिएका छन्। उक्त नगरपालिकाका १६ जनालाई कोरोना पुष्टि भएको जनाइएको छ । हलेसी तुवाचुङ नगरपालिका र खोटेहाङ गाउँपालिकामा चार/चार, जन्तेढुङ्गा गाउँपालिकाका दुई, दिप्रुङ चुइचुम्मा, ऐसेलुखर्क, र बराहपोखरी गाउँपालिकाका एक÷एक जनालाई सङ्क्रमण पुष्टि भएको छ। केपिलासगढी गाउँपालिका र रावाबेँसी गाउँपालिकामा हालसम्म सङ्क्रमित फेला परेका छैनन् ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मात्र यस वर्षको दशैँ, तिहारलगायतका चाडपर्व मनाउन जिल्लावासीलाई आग्रह गरेको छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको १९औँ बैठकले दिनानुदिन कोरोना भाइरसको सङक्रमण वृद्धि हुने दर निरन्तर बढिरहेको अवस्थामा एक ठाउँमा भेला हुँदा सङ्क्रमण फैलिने त्रास बढेकाले सामूहिक रूपमा भीडभाड नगरी आ–आफ्नो घरका सदस्यमात्र सहभागी भएर चाडवाड मनाउन आग्रह गरेको हो ।
भेला हुन तथा भीडभाड नगर्न आग्रह गरिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताए ।
समितिले सरकारको कोभिड–१९ सम्बन्धी नियमको पालना गर्दै विभिन्न खेलकूद, धार्मिक मेला, भीडभाडका बीचमा गरिने कार्यक्रम, भेलाजस्ता गतिविधि नगर्न आग्रह गरेको छ।
प्रत्येक वडामा वडाध्यक्ष वा वडासदस्यको नेतृत्वमा निगरानी टोली बनाएर स्थानीयवासीलाई कोभिड–१९ को सङ्क्रमणबाट बँच्ने उपायका बारेमा सचेत गराउने तथा बाहिरबाट आएकालाई क्वारेन्टाइन, आइसोलेसन वा स्वास्थ्य संस्थामा पुर्याउने व्यवस्था मिलाउन समेत समितिले वडालाई अनुरोध गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।