नवलपरासी–नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्याललाई कोरोना संक्रमण पुष्टि भएको छ।
नेशनल प्याथल्याब बुटवलमा सोमबार गरिएको पिसीआर परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो। रुघाखोकी र ज्वरो आएपछि केही दिनदेखि आराम गरिरहेका नगरप्रमुख बस्यालले सोमबार स्वाब परीक्षण गर्दा आफू संक्रमित भएको पुष्टि गरेका हुन्।
उनी अहिले होम आइसोलेसनमा छन्। आफूसँग सम्पर्कमा रहेकालाई सतर्क र सजग रहन आग्रह गर्दै प्रमुख बस्यालले छिट्टै कोरोना जितेर नागरिकको सेवामा फर्किने बताएका छन्।
कोरोनालाई हेल्चेक्रयाइँ नगर्न भन्दै उनले लक्षणहरु देखिएमा नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न सबैमा अनुरोध पनि गरेका छन्।
यस्तै, दाङको बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
सोमबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा अध्यक्ष पौडेलसहित प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्ल, इञ्जीनियर राजेश देवकोटा, गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी सिद्धबहादुर केसी, बबई गाउँपालिका २ का वडाध्यक्ष चिन्तामणि शर्मासहित छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
गाउँपालिकाका प्रेस संयोजक प्रेम राम्जाका अनुसार कोरोनाको लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । अहिले भने त्यस्तो लक्षण नदेखिएको उनले जानकारी दिए। जिल्लामा सोमबार मात्रै ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।