काठमाडौं- डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई पाँच विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो।
१६३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभर सकिन दुई बल बाँकी रहँदा पाँच विकेटको क्षतिमा लक्ष्य भेटायो। मुम्बईका लागि डि कक र सुर्यकुमार यादवले समान ५३–५३ रन बनाए। त्यस्तै, इशान किशानले २८ रन बनाए। बलिङतर्फ दिल्लीका कागिसो रबडाले दुई विकेट लिए।
यसअघि शेख जायद रंगशालामा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको दिल्लीले २० ओभरमा चार विकेटको क्षतिमा १६२ रन बनाएको थियो। दिल्लीका ओपनर शिखर धवनले अविजित ६९ रन बनाउँदा कप्तान श्रेयस ऐयरले ४२ र अजिंक्या रहानेले १५ रन बनाएका थिए। बलिङतर्फ मुम्बईका क्रुनाल पाण्ड्याले दुई विकेट लिए।
यो जितसँगै मुम्बई शीर्ष स्थानमा उक्लिदा दिल्ली भने दोस्रो स्थानमा झरेको छ। मुम्बईले सात खेलमध्ये पाँच खेलमा जित र दुई खेलमा हार ब्यहोर्दै १० अंक बनाएको हो। दिल्लीले भने मुम्बईलाई पराजित गर्दै १२ अंक बनाउने मौका गुमाएको छ। सात खेलमध्ये पाँच खेलमा जित र दुई खेलमा हार ब्यहोरेको दिल्लीको पनि १० अंक नै छ। तर नेट रनरेटमा दिल्ली पछि परेको हो।
लिगको तेस्रो स्थानमा कोलकाता नाइट राइडर्स रहँदा चौथो स्थानमा रोयल च्यालेन्जर्स बैंग्लोर र पाँचौंमा सनराइजर्स हैदराबाद रहेका छन्। त्यस्तै, छैटौं स्थानमा राजस्थान रोयल्स, सातौं स्थानमा चेन्नाई सुपर किंग्स रहँदा लिगको पुछारमा भने किंग्स इलाभेन पञ्जाब छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।