काठमाडौं– राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा तेस्रो जित निकालेको छ। आइतबार भएको खेलमा राजस्थानले सनराइजर्स हैदराबादलाई पाँच विकेटले पराजित गरेको हो।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १५९ रनको मध्यम चुनौती पछ्याउँदै ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभर सकिन एक बल बाँकी रहँदा पाँच विकेटको क्षतिमा लक्ष्य भेटायो। राजस्थानका लागि रियान पराग र राहुल टेवाटियाले ८५ रनको साझेदारी गर्दै जित दिलाए। राहुलले २८ बलमा अविजित ४५ रन बनाउँदा रियान २६ बलमा ४२ रन बनाउँदै अविजित रहे। राजस्थानका अग्रपंक्तिका ब्याट्सम्यान चल्न सकेनन्। सन्जु सामसनले २६, रोविन उथप्पाले १८ र जस बटलरले १६ रन बनाए। बलिङतर्फ हैदराबादका खालिल अहमद र राशिद खानले समान २–२ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ थालेको हैदराबादले २० ओभरमा चार विकेटको क्षतिमा १५८ रन बनाएको थियो। हैदराबादका लागि मनिष पाण्डेले ५४, कप्तान डेभिड वार्नरले ४८ र केन विलियम्सनले २२ रन बनाए।
यो राजस्थानको पुनरागमन जित हो। यसअघि आफ्नो पहिलो खेलमा चेन्नाई सुपर किंग्सलाई १६ रनले पराजित गरेको राजस्थानले दोस्रो खेलमा पञ्जाबलाई चार विकेटले हराएको थियो। तर राजस्थानले त्यसपछिका चार खेलमा भने लगातार हार ब्यहोरेको थियो। तेस्रो खेलमा कोलकाता नाइट राइडर्ससँग ३७ रनले पराजित भएको राजस्थान चौथो खेलमा भने रोयल च्यालेन्जर्स बैंग्लोरसँग आठ विकेटले हारेको थियो। त्यस्तै पाँचौं खेलमा मुम्बई इन्डियन्ससँग ५७ रन र छैटौं खेलमा दिल्ली क्यापिटल्ससँग ४६ रनले पराजित भएको थियो।
सात खेलमध्ये चार खेलमा हार र तीन खेलमा जित निकालेको राजस्थानले ६ अंक बनाएको छ। पराजित हैदराबादको पनि समान सात खेलबाट चार खेलमा हार र तीन खेलमा जितसहित ६ अंक नै छ। अंक तालिकामा भने हैदराबाद पाँचौं स्थानमा रहँदा राजस्थान छैटौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।