काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चक्रपथ सुधार आयोजनाको दोस्रो चरणका कामलाई तत्काल गति दिने भएको छ। यसबारे मन्त्रालयले आइतबार विभिन्न चार निर्णय गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङको अध्यक्षतामा आइतबार मन्त्रालयमा भएको बैठकले एक महिनाभित्र पोल स्थानान्तरण गर्ने, तीन महिना भित्र हाइ भोल्टेज टावर स्थानान्तरण गर्ने, सडक सीमामा रहेका जग्गाको मूल्याङ्कन गर्ने लगायत काम सक्ने निर्णय गरेको हो।
बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव यादव कोइराला, प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलिया, भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्की, नेपाल टेलिकमका महानिर्देशक अनन्तमान सिंह, नेपाल विद्युत प्राधिकरणका निमित्त प्रवन्ध निर्देशक लेखनाथ कोइराला, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, आयोजना प्रमुख लगायत सहभागी थिए।
मन्त्रालयले गरेका चार निर्णयहरू:
- नेपाल विद्युत प्राधिकरणबाट बिगतमा बिभिन्न बैठकहरुमा भएका प्रतिबद्धताहरूअनुसार आजको मितिले एक महिना (कार्तिक मसान्त) भित्र सम्पूर्ण पोल स्थानान्तरण गरी तार हाल्ने कार्य सम्पन्न गर्ने र ३ महिना (पुस मसान्त) भित्र अनिवार्य रुपमा कारखाना चोक र सानोभर्याङ स्थित हाइ भोल्टेज टावर स्थानान्तरण गर्ने।
- स्वयम्भूस्थित चैत्य कार्तिक मसान्तभित्र हटाउन काठमाडौँ महानगरपालिकासँग समन्वय गर्ने र सडक विभाग, काठमाडौं चक्रपथ सुधार योजनाबाट कार्तिक मसान्त भित्र नयाँ बसपार्कको आकाशे पुल भत्काउने कार्य सम्पन्न गर्ने।
- जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सम्बन्धित वडा कार्यालय र नगरपालिकासंग समन्वय गरी नारायणगोपाल चोक, महाराजगंजको २४४ मिटर सडक सीमामा रहेका जग्गाको मुल्यांकन कार्तिक मसान्तभित्र सम्पन्न गर्ने।
- सडक सीमासम्बन्धी रहेको अन्यौल बारेमा राजपत्र र कानुनी दस्तावेजको अध्ययन गर्ने र थप परामर्श गरी यथाशीघ्र नीतिगत निर्णय गर्नको लागि सडक विभागबाट आवश्यक पहल गर्ने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।