काठमाडौं–विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप १७ जना नेपालीको ज्यान गएको छ।
गैरआवासीय नेपाली संघका अनुसार शनिवार साँझसम्म युएईमा १ जना र साउदी अरबमा १६ जना थप नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा संजीव सापकोटाका अनुसार विगत ९ महिनामा नेपालबाहेक १८ देशका २ सय ८१ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ।
संघका अनुसार यो साता बेल्जियम, स्पेन, नेदरल्याण्ड, भारत, ओमान, कतार र साउदी अरबमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिवार साँझसम्म ४२ देशका ४० हजार ७ सय ३५ नेपाली कोरोना संक्रमित भएका छन्। तीमध्ये ३६ हजार ६ सय ७३ जना निको भएका छन्। संक्रमित नेपालीमध्ये ८९ प्रतिशत कोरोनामुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।