काठमाडौं- २७ दिनयता अनसनरत डा गोविन्द केसी पक्ष र सरकारबीच सहमति हुने भएको छ। शनिबार राती सरकारी पक्ष र डा केसी पक्षबीच वार्ता भएपछि निष्कर्ष निस्किएको हो।
डा केसी र सरकारबीच ८ बुँदे सहमति हुन लागेको स्रोतले जानकारी दिएको छ। अहिले सरकारी पक्ष डा केसी पक्षसँग सहमतिपत्रमा हस्ताक्षर गर्न त्रिवि शिक्षण अस्पताल पुगेको छ। अबको केही बेरमा नै सहमतिपत्रमा हस्ताक्षर हुन लागेको हो।
शनिबार दिनभर गृहकार्यमा रहेको दुवै पक्षको टोलीले शनिबार राती निष्कर्ष निकालेको हो।
सहमति भए पनि डा केसीले आइतबार मात्र अनसन तोड्ने भएका छन्।
सहमति डा केसीका ६ बुँदे मागका ६ वटा सहमति छन्। ७ नम्बर बुँदामा उक्त सहमतिलाई सम्बन्धित निकायमा लैजाने र ८ नम्बर बुँदामा अनसन तोड्ने विषय उल्लेख छ।
बिहीबार सकारात्मक कोणबाट सुरु भएको वार्ता शुक्रबार भने निराशाजनक भएको थियो। शुक्रबारको वार्ता लगत्तै डा केसी पक्षले आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरिसकेको थियो।
बिहीबार १० घण्टा बसेर रोकिएको वार्ता शुक्रबार राती ९ बजे सिंहदरवारस्थित शिक्षा मन्त्रालयमा भएको थियो। तर बिहीबारको कुराकानीभन्दा शुक्रबार सरकारी पक्ष पछि हटेपछि वार्ता निष्कर्षविहीन भएको थियो।
२७ दिनयता अनसनरत डा केसीको स्वास्थ्य अवस्था भने कमजोर बन्दै गएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ। आफ्ना माग पूरा नहुन्जेल डा केसीले अनसन जारी राख्ने अडान दोहोर्याउँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।