काठमाडौं- प्रिति जित्टाको क्लब किंग्स इलाभेन पञ्जाब जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको लिग चरणबाटै बाहिरिने सम्भावना बढेको छ। खराब प्रदर्शन गरिरहेको पञ्जाबले शनिबार कोलकाता नाइट राइडर्ससँग २ रनको झिनो हार ब्यहारेको छ।
१६५ रनको मध्यम लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १६२ रन मात्रै बनाउन सक्यो। पञ्जाबका लागि कप्तान केएल राहुलले ७४ र मयंक अग्रवालले ५६ रन बनाएका थिए।
पहिलो विकेटको लागि केएल राहुल र मयंक अग्रवालले ११५ रनको साझेदारी गरेपछि पञ्जाब जित नजिक थियो। १८ बलमा पञ्जाबलाई २२ रन मात्र चाहिएको थियो भने ९ विकेट अझै बाँकी थियो। पञ्जाबले हारिन्छ भनेर सोचेको पनि थिएन। तर अन्तिम तीन ओभर पञ्जाबको लागि अहिलेसम्मकै खराब रह्यो। धेरै आश गरिएका निकोलस पुरन र ग्लेन म्याक्सवेल जस्ता विष्फोटक ब्याट्सम्यान फेल खाए। पुरन १० बलमा १६ रन बनाएर आउट हुँदा म्याक्सवेल भने पाँच बलमा १० रन बनाएर अविजित रहे। कोलकाताका प्रसिध कृष्णले तीन र सुनिल नारिनले दुई विकेट लिए।
यसअअघि शेख जायद क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६४ रन बनाएको थियो। खराब सुरुवात गरेको कोलकातालाई कप्तान दिनेश कार्थिकले २९ बलमा ५८ र शुबमन गिलले ५७ रन बनाए।
जितपछि कोलकाता भने लिगको तेस्रो स्थानमा उक्लिएको छ। ६ खेलमध्ये चार खेलमा जित र दुई खेलमा हार ब्यहोरेको कोलकाताले आठ अंक बनाएको छ। सात खेलमध्ये ६ खेलमा हार र एक खेलमा जित निकालेको पञ्जाब लिग चरणबाटै बाहिरिने सम्भावना बढेको छ। दुई अंक बनाउँदै लिगको पुछारमा रहेको पञ्जाबले जारी लिगमा खराब खेलिरहेको छ।
लिगको शीर्ष स्थानमा भने दिल्ली क्यापिटल्स छ। दिल्लीकोे ६ खेलमध्ये पाँच खेलमा जित र एक खेलमा हारसहित १० अंक छ। अंक तालिकाको दोस्रो स्थानमा साविक विजेता मुम्बई इन्डियन्स छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।